‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

  मंसिर २३, २०७९

काठमाडौँ, मङ्सिर २३ : पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार पाँच महिनासम्मका बालबालिकालाई पूर्ण स्तनपान गराउने प्रवृत्ति ५६ प्रतिशतमा झरेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले यो तथ्याङ्क चिन्ताजनक भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “महिला सौखिन र देखासिकी गर्ने संस्कारका कारण स्तनपान नगराउने प्रचलन बढेको छ । बच्चा जन्मिएपछि महिलाले बिदा नपाउने समस्याले पनि पूर्ण स्तनपान गराउनेको सङ्ख्या घटेको देखिएको छ, जुन निराशाजनक छ ।”

यता मन्त्रालयअन्तर्गतको नीति तथा योजना अनुगमन महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेल भन्नुहुन्छ, “अहिले रोजगारीमा महिलाको सङ्ख्या बढेको छ । प्रजनन स्वास्थ्यसम्बन्धी ऐनले स्तनपानका लागि ९८ दिन बिदाको व्यवस्था गरेको छ । तर निजी क्षेत्रले यसको पालना गरेको छैन । बिदा नपाउँदा पूर्ण स्तनपान ‘ब्रेक’ भएको देखिन्छ ।”

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन, २०४९ छ । तर चिकित्सकले नै गैरकानुनीरूपमा फर्मोला (दूधलाई प्रतिस्थापन गर्ने वस्तु) सिफारिस गर्ने समस्या देखिने गरेको उहाँको भनाइ छ ।

“विशेषगरीे सहरी क्षेत्रमा आमाको दूधको विकल्प र फर्मोलाको प्रयोग बढ्नु दुःखद् कुरा हो । कतिपय अवस्थामा गेरकानुनीरूपमा चिकित्सकले फर्मोला सिफारिस गरेको देखिन्छ । तर नियमित अनुगमन गर्न सकिरहेको अवस्था छैन ।”

पानी, मह, गाई, भैँसीको दूध वा फर्मोला नखुवाई पूर्णरूपमा आमाको दूध खुवाउने प्रचलन घटेको हो । सर्वेक्षणका अनुसार सन् १९९६ मा ७५ प्रतिशत, सन् २००१ मा ६८ प्रतिशत र सन् २००६ मा ५३ प्रतिशत पूर्ण स्तनपान गराउने प्रवृत्ति रहेको थियो । सन् २०११ मा ७० प्रतिशतमा बढेर सन् २०१६ मा भने ६६ प्रतिशतमा झरेको थियो । अहिले सन् २०२२ मा ५६ प्रतिशतले पूर्ण स्तनपान गराउने प्रवृत्ति रहेको छ ।

तपाईको प्रतिक्रिया