एकीकृत प्रजनन स्वास्थ्य शिविरबाट महिला लाभान्वित

  मंसिर २२, २०७९

सर्लाही, मङ्सिर २२ : सर्लाहीको बयलवासमा तीनदिने एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । मङ्सिर २० गतेदेखि ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नगर अस्पतालमा भएको परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत प्रजनन स्वास्थ्य शिविरमा एक सय ९३ जना महिलाले लाभ लिएका छन् ।

ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नगर अस्पतालमा ईश्वरपुर नगरपालिकाको आयोजना तथा नगर अस्पताल बयलबासको समन्वयमा परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले नागरिकको स्वास्थ्य, शिक्षा, दैनिक जीविकोपार्जनमा पहुँच नपुगेसम्म मुलुकको वास्तविक विकास नहुने बताउनुभयो । मङ्सिर २० गते मङ्गलबारदेखि सुरु भएको तीनदिने परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत प्रजनन स्वास्थ्य शिविरमा मिनिल्याप, भ्यासेक्टोमी र पाठेघर खस्नेलगायतका सेवा सञ्चालन गरिएको ईश्वरपुर नगर स्वास्थ्य शाखा संयोजक सुरेन्द्र महतोले बताउनुभयो ।

उहाँका अनुसार शिविरमा मिनिल्याप एक सय सात जना र पाठेघर खस्ने समस्याका ८६ जना महिलाको उपचार गरिएको छ । तीमध्ये दुई जनाको पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने समस्या देखिएको र बाँकी ८४ जनाको सामान्य औषधि प्रयोगबाट नै समस्या समाधान हुने देखिएको नगर स्वास्थ्य संयोजक महतोले बताउनुभयो ।

उहाँका अनुसार मधेसका महिला आफ्ना समस्या लुकाउन बाध्य भएका शिविरमा सेवा लिन आएका महिलामा देखिएको स्वास्थ्य समस्याले पुष्टि गरेको छ ।

आड्रा नेपालसहितको सहयोगमा मङ्सिर २० गतेदेखि २२ गतेसम्म सञ्चालन भएको शिविरले दैनिकी चलाउन नसक्ने नागरिकलाई ठूलो राहत भएको नगरपालिकाले जनाएको छ । शिविरमा स्वास्थ्य सेवा लिन आएका महिलालाई नगर प्रमुख आचार्यले हर्लिक्स निःशुल्क वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया