मझगाउँ विमानस्थल निर्माण प्रभावित

  मंसिर २०, २०७९

दोधारा चाँदनी,मङ्सिर २० : कञ्चनपुरको मझगाउँ विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा विमानस्थल निर्माण प्रभावित भएको छ । विमानस्थलको दक्षिणतर्फ रत्न बाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माण कार्य स्थगन भएको हो ।

अहिले विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण अधुरै छ । रत्न बाटिका र सेनाले भोगचलन गरिरहेको जग्गासहित जोड्दा विमानस्थलको लम्बाइ दुई हजार पाँच सय मिटर पुग्छ तर उक्त जमिनको भोगाधिकार विमानस्थलको नाममा नहुँदा धावनमार्ग निर्माणको काम रोकिएको विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताउनुभयोे ।

उहाँले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढेको बताउनुभयो । “तीनवटा मन्त्रालयसँग समन्वय गरेर निर्णय गर्नुपर्ने भएकाले ढिलाइ भइरहेको छ ।” उहाँले भन्नुभयो, “बीचमा दसैँ तिहार र निर्वाचनका कारण पनि काम हुन सकेन ।”

ओझाका अनुसार अहिले पनि जग्गाको स्वामित्वका लागि प्रक्रियामै रहेको र मन्त्रिपरिषद्को निर्णय हुन बाँकी छ । सेनाका मातहतमा रहेको जग्गा विमानस्थललाई दिने सहमति यसअघि भएको थियो । उहाँका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि सेनाका नाममा लालपुर्जा छ ।

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश लेखकले विमानस्थल निर्माणको काम अघि बढाउन पहल भइरहेको बताउनुभयो । “जग्गाको विषयमा केही अलमल भएको हो, त्यो विषय छिट्टै टुङ्ग्याएर काम अघि बढ्छ ।” उहाँले भन्नुभयो, “त्यसका लागि म आफँै पनि मन्त्रालयमा पुगेको छु, प्रक्रियागत कुराले ढिलाइ भएको हो ।”

विमानस्थल पुनः निर्माण सङ्घर्ष समितिका व्यवस्थापन संयोजक करन पालले विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । “यहाँ विमानस्थलको आवश्यकता छ, यसले यहाँको पर्यटन विकासमा सहयोग पुग्दछ”, उहाँले भन्नुभयो, “हामीले पटकपटक सरकारसँग विमानस्थल सञ्चालनका लागि दबाब दिइरहेका छौँ ।” उहाँले निर्वाचनको बेला पनि दलहरूले विमानस्थल सञ्चालनको एजेण्डा बनाएकोले छिट्टै विमानस्थलको काम सञ्चालन हुने आशावादी रहेको बताउनुभयो ।

भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छारामरकेएसरउमा एण्ड कम्पनीसँग रु ४५ करोड ६६ लाखमा सम्झौता भएको छ ।

पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायत काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि २०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सङ्कटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो ।

तपाईको प्रतिक्रिया