मुन्धुमले सदियौँदेखि मानव सभ्यता चिनाएको छ : उपराष्ट्रपति पुन

  मंसिर १८, २०७९

फिक्कल, मङ्सिर १८ : उपराष्ट्रपति नन्दबहादुर पुनले मुन्धुम र किरात धर्म–संस्कृतिले सदियौँदेखि मानव सभ्यता चिनाउँदै आएको बताउनुभएको छ । इलामको माङ्सेबुङ गाउँपालिकास्थित लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९औँ जन्मोत्सवको उद्घाटन गर्दै उहाँले किरातको अलिखित धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभइ सिङ्गो नेपालीको उत्कृष्ट सम्पदा भएकाले यसमा गौरव गर्न नेपालीमा आग्रह गर्नुभयो ।

“विविधताबीचको एकता नै नेपालीको मुख्य पहिचान हो”, उहाँले भन्नुभयो, “नेपाल बहुजातीय, बहुभाषिक, बहुुधार्मिक, बहुसांस्कृतिक देश हो । नेपालमा जातीय विविधता, भाषिक, सांस्कृतिक विविधिता छ, सहिष्णुता छ ।”

उहाँले इलाम प्रकृति र संस्कृतिको धनी जिल्ला भएको बताउनुभयो । उपराष्ट्रपति पुनले भन्नुभयो, “यो ठाउँ प्राकृतिक रूपमा मनोरम र सांस्कृतिक रूपमा समृद्ध छ । आदिमकालदेखि किरातीको बसोबास भएको यो ठाउँ धर्म, भाषा, लिपि, संस्कृति र सभ्यतामा समृद्ध छ ।”

किरात धर्मगुरुका प्रगतिशील धारणाबारे खुलेर प्रशंसा गर्नुभएका उहाँले शान्ति अहिंसा, शिक्षाजस्ता उपदेश आज पनि व्यावहारिक रहेको बताउनुभयो । “मुन्धुम सबै नेपालीको जीवन दर्शन हो । परम्परागत र मौखिक रूपमा रहेको मुन्धुमलाई परिस्कृत गर्दै अघि बढाउन फाल्गुनन्दको खास योगदान छ ।”

उपराष्ट्रपति पुनले भन्नुभयो, “छोरीलाई छोरासमान शिक्षा र अंश दिने, स्वदेशी उत्पादनका सामानको प्रयोग, किरात धर्ममार्फत आत्मनिर्भरताका लागि कृषिको विकास, आत्मिक शान्तिका लागि अध्यात्म, स्वस्थ शरीरका लागि साकाहारी जीवनशैलीजस्ता विचार प्रगतिशील हुन् । यसले मानवजातिलाई सकारात्मक सन्देश दिइरहेको छ ।”

फरक प्रसङ्गमा उहाँले निर्वाचनमा सहभागी भएर मताधिकार प्रयोग गरेको भन्दै मतदातालाई बधाई र नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिनुभएको छ । उहाँले भन्नुभयो, “निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, सरकार, सुरक्षा निकाय, कर्मचारी र पर्यवेक्षकलाई पनि धन्यवाद दिन चाहान्छु ।”

तपाईको प्रतिक्रिया