मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

  मंसिर १७, २०७९

मुसीकोट, मङ्सिर १७ : रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्नुहुन्छ । आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उहाँले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाउनुभएको हो । बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी हुनुभएको छ ।

किवी फले पनि जिल्लामै थोरै मात्रामा बिक्री भएकाले ठूलो मात्रामा फलेको किवी बजारसम्म पु¥याउन उहाँलाई निकै गाह्रो भयो । घरबाट डोकोमा बोकेर करिब दुई किलोमिटर हिँडेपछि मात्र सडक भेटिन्थ्यो । सडकमा किवी पु¥याए पनि गाडीले किवी बोक्न नमान्दा शाहीलाई किवी बिक्री गर्न निकै समस्या भयो ।

उहाँ मात्रै होइन, उक्त नगरपालिकामा किवी खेती गरेका किसानलाई बिक्री गर्न धेरै समस्या भयो । किवीले बजार पाउन छाडे पनि नगरपालिकामा रहेको एउटा वाइन उद्योगले खरिद गर्ने भएको छ । नगरपालिकाका किसानले उत्पादन गरेको किवी कर्णाली वेभरेज प्रालिले खरिद गर्ने भएको हो ।

आठबीसकोट नगरपालिका–१२ झिनचौरमा रहेको उक्त प्रालि र किसानको सहमतिअनुसार फलाएको किवी प्रतिकिलो रु एक सय २५ मा खरिद हुने नगर प्रमुख रवि केसी जानकारी दिनुहुन्छ ।

उहाँका अनुसार यस नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११ र १२ मा एक सय ४२ क्विन्टल किवी उत्पादन भएको छ । छ वटा वडामा गरेर अहिले नगरपालिकामा ४७ जना व्यावसायिक किवी उत्पादक किसान छन् । पहिलो स्थानीय सरकारले किवी खेतीलाई जोड दिएपछि नगरपालिकामा किवी खेती गर्ने किसानको सङ्ख्या धेरै पुगेको छ ।

सरकारले किसानलाई अनुदानमा ठूलो मात्रामा किवीको बिरुवा विरतरण गरेको थियो भने किसान आफैँले किनेर पनि बिरुवा लगाएका थिए । नगरपालिकामा गत वर्ष मात्र दुई हजार एक सय वटा किवीका बिरुवा रोपिएका थिए । अहिले नगर भरमा करिब एक हजार पाँच सय किवीका बोटले उत्पादन दिइरहेको नगरपालिकाको अनुमान छ ।

ती बोटबाट करिब एक सय ४२ क्विन्टल किवी उत्पादन हुने अनुमानसहित नगरपालिकाको रोहवरमा उक्त प्रालि र किसानबीचमा सहमति भएको हो । त्यस्तै नगरपालिकाले ढुवानीका लागि अनुदान पनि दिने भएको छ । किसानको बारीबाट वडा नम्बर १२ मा रहेको कम्पनीसम्म किवी पु-याउन लाग्ने भाडा नगरपालिकाले तिरिदिने नगर प्रमुख केसी बताउनुहुन्छ ।

अहिलेसम्म किसानले आ–आफैँ किवी बिक्री गरिरहेकामा पहिलोपटक नगरभरको किवी एकमुस्ट बिक्री हुन लागेको हो । नगरमै किवी खपत हुने र ढुवानीमा अनुदान पाइने भएपछि कृषक खुसी भएका छन् । कर्णाली वेभरेजले वाइन तथा विभिन्न जुस उत्पादन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया