तीन स्रष्टालाई भारती खरेल स्मृति पुरस्कार

  मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : साहित्यसाधिका भक्तिमती भारती खरेलको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट तीन जना व्यक्तित्वलाई सम्मानित गरिएको छ ।

भारती खरेल प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा यस वर्षको पुरस्कार साहित्यकार एवं समालोचक प्रा डा वासुदेव त्रिपाठी, विसं २०७८ सालको पुरस्कार समाजसेवी अनुराधा कोइराला र विसं २०७७ को पुरस्कार गीतकार किरण खरेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ५१ हजार, सम्मान पत्र र फूलमाला रहेको छ ।

पुरस्कार प्रदान गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले साहित्य, अध्यात्म र समाजसेवाका क्षेत्रमा योगदान गर्नेलाई दिइने पुरस्कारले ती क्षेत्रका स्रष्टालाई प्रोत्साहन गर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व माइती नेपालकी संस्थापक अध्यक्ष कोइराला स्वास्थ्यका कारण उपस्थित हुन नसक्नुभएपछि सोही संस्थाका कार्यकारी निर्देशक विश्वराम खड्काले पुरस्कार ग्रहण गर्नुभएको थियो ।

सम्मानित व्यक्तित्व प्रा डा त्रिपाठी, माइती नेपालका कार्यकारी निर्देशक खड्का, प्रतिष्ठानका संस्थापक संरक्षक चन्द्रिकानन्द खरेल, प्रतिष्ठानका अध्यक्ष साहित्यकार शैलेन्द्र साकार, सदस्य सचिव प्रयागराज भट्टराई वाशिष्ठलगायतले साहित्य, समाजसेवा र अध्यात्म क्षेत्रमा भारती खरेलले पु¥याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया