नेपाल पुरातत्व विभागद्वारा पण्डितपुरमा जियोफिजिक्स सर्भे

  मंसिर १५, २०७९

नवलपरासी, मङ्सिर १५ : पश्चिम नवलपरासीको पण्डितपुरमा जियोफिजिक्स सर्भे गरिएको छ । बुद्धसँग सम्बन्धित यो क्षेत्रमा नेपाल पुरातत्व विभागले विदेशी प्राविधिक टोलीमार्फत सर्भे गरेको हो ।

रामग्राम नगरपालिका–१८ मा रहेको पण्डितपुरमा केही समय अगाडि पुरातात्विक अवशेषहरू भेटिएपछि अहिले जियोफिजिक्स सर्भे भइरहेको छ । बेलायतको दुराम विश्वविद्यालयको प्राविधिक टोलीले सर्भे गरेको हो ।

जमिनमुनि केही पुरानो सम्पदा हुनसक्ने भन्दै त्यस क्षेत्रको केही क्षेत्रफलमा केन्द्रित भई जमिनको स्केन गरी सर्भे भइरहेको छ । प्राचीनकालको पुरातात्विक अवशेषहरू भेट्दै गएपछि त्यस क्षेत्रमा तीन सिजनदेखि सर्भे भइरहेको पुरातत्व विभागका भाष्कर ज्ञवालीले बताउनुभएको छ ।

पण्डितपुरमा अहिलेसम्म ८० प्रतिशत सर्भे भइसकेको छ । अन्तिम रिपोर्ट आउन बाँकी रहेको छ । हरेक सर्भेमा त्यस क्षेत्रमा केही न केही पुरातात्विक कुरा भेटिने गरेको छ । स्थानीयवासीले खेतमा काम गर्दा पुराना इँटा तथा भाँडा भेटिन्छ । पण्डितपुरमा भेटिएका ती अवशेष तथा पुरातात्विक वस्तुले प्राचीन इतिहासलाई वर्णन गर्छ ।

कतै पर्खाल छन् भने कतै प्राचीनकालमा इँटाले बनाएको इनार (कुवा) समेत रहेको पाइन्छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा रहेको रामग्राम स्तूप र पण्डितपुर गाउँ बौद्धसँग सम्बन्धित इतिहास बोकेका छन् । पण्डितपुरमा पुरातत्व विभागले प्राचीन स्मारक भनेर बोर्ड पनि स्थापना गरेको छ ।

पण्डितपुर गाउँ प्राचीनकालमा कोलिया गणराज्यको राजधानी भएको पनि स्थानीय जानकारहरूले बताउँछन् । बुद्धको मावली (मामा घर) भनेर पनि पण्डितपुरलाई चिनिन्छ । बुद्धकी आमा मायादेवी त्यहीँ पण्डितपुरमा जन्मेको बताइन्छ । पण्डितपुरको करिब ५० बिघा क्षेत्रफलमा प्राचीन इतिहास रहेको बताइन्छ । सो क्षेत्रमा उत्खनन नहुँदा स्थानीयवासीले खेती गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया