६४ वर्षको इतिहासमा ७ औं पटक संसदीय निर्वाचन हुँदै

  मंसिर ०३, २०७९

काठमाडौं । नेपालमा पहिलो संसदीय निर्वाचनको भएको करिब ६४ वर्षपछि अहिले सातौं निर्वाचन हुँदै छ । त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ लागु भएपछि दोस्रो आम निर्वाचनको संघारमा देश रहेको छ । चुनावी अभ्यासका विभिन्न चरण पार भएपनि लोकतान्त्रिक विधिबाट बनेका कुनै सरकारले पूर्ण अवधि काम गर्न पाएको इतिहास छैन ।

नेपालको पहिलो संसदीय निर्वाचन वि.स. २०१५ फागुन ७ मा सुरु भएको थियो । प्रजातन्त्र स्थापनाको आठौं बर्षको अवसरमा आम निर्वाचन गरिएको थियो । त्यो निर्वाचन दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा मतदान भएका क्षेत्रमा दुई दिनमै परिणाम घोषणा गरिएको थियो भने त्यसको हप्ता दिनको समय राखेर दोस्रो चरणको चुनाव भएको थियो । सम्पूर्ण परिणाम आउन ४५ दिन लागेको थियो । निर्वाचनमा १ सय ९ जना सासंद चुनिएका थिए । पहिलो संसदीय चुनावका लागि सात सय बढी उम्मेद्वार रहेका थिए । त्यो समयमा २१ वर्ष माथिका मतदाताले मात्र आफ्नो मतााधिकार प्रयोग गर्ने व्यवस्था थियो । ४२ लाख ४६ हजार ४ सय ४८ मतदाता मध्ये १९ लाख ८१ हजार ३ सय ८१ ले अर्थात ४७ प्रतिशत मतदाताले मात्र आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

वि.स. २०१५ को आम निर्वाचनको परिणामअनुसार रुख चुनाव चिन्ह भएको नेपाली कांग्रेसले एक्लै दुई तिहाइ अर्थात ७४ सीट ल्याएको थियो । झुपडी चुनाव चिन्ह भएको राष्ट्रिय गोरखा परिषद्ले १९ सीट ल्याएर प्रमुख प्रतिपक्षी दल बनेको थियो । यसैगरी पाँच सीट जितेर तेस्रो स्थानमा आएको संयुक्त प्रजातन्त्र पार्टीको चुनाव चिन्ह धानको बाला थियो । त्यो बेला निर्वाचनमा एक लाख बढी मत पाउने दललाई राष्ट्रिय पार्टीको मान्यता दिइएको थियो ।

पहिलो संसदीय निर्वाचनमा अहिलेको मतदानमा जस्तो स्वस्तिक छाप थिएन । त्यसबखत मतदानका लागि लाम लागेका मतदाताहरुको नामावली हेरेर उनीहरुलाई कार्ड दिइन्थ्यो । अनि मतदाताहरु मत पेटिका भएको कोठा भित्र गई चुनाव चिन्ह टाँगिएका मतपेटिकाहरुमा आफ्नो कार्ड खसाउँथे । र त्यही कार्डको गणना हुन्थ्यो । पहिलो संसदीय चुनावपछि महिला प्रतिनिधि द्वारिकादेवी ठकुरानीसहितको ८ सदस्यीय मन्त्रीमण्डल बनाइएको थियो । संसदीय चुनावपछिको पहिलो प्रधानमन्त्रीको जिम्मेवारी कांग्रेसका विश्वेश्वरप्रसाद कोइरालाले सम्हालु भएको थियो ।

तपाईको प्रतिक्रिया