ह्वावे नेपालको ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न

  कार्तिक ०१, २०७९

काठमाडौँ, कात्तिक १ : ह्वावे नेपालले यस वर्षको ‘सिड्स फर द फ्युचर’ सूचना प्रविधि सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीका लागि गरेको ‘ग्लोबल फ्ल्यागसिप सिएसआर’ कार्यक्रम आज एक समारोहका बीच समापन गरिएको छ ।

कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसयता कार्यक्रममा एक सय ३० भन्दाबढी देश र क्षेत्रका १२ हजार बढी विद्यार्थीले कार्यक्रममा भाग लिएका छन् । यस वर्ष नेपालभरबाट दुई सय ५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । त्यसपछि प्रा डा शशिधर राम जोशी, प्रा तिमिला यमी थापा, प्रा डा सुवर्ण शाक्य र प्रा डा मनिष पोखरेल सम्मिलित समितिले विभिन्न आधारमा सात जना विद्यार्थी छनोट गरेको थियो ।

त्यसमा निर्माण खड्का (काठमाडौँ विश्वविद्यालय), वंशज पौडेल (मदन भण्डारी मेमोरियल कलेज), जतिन भुसाल (ख्वपा इञ्जिनियरिङ कलेज), रिया वैद्य (पुल्चोक क्याम्पस), नदीका पौडेल (पुल्चोक क्याम्पस), प्रज्ञा मल्लिक (काठमाडौँ विश्वविद्यालय), अजु तामाङ (अमृत साइन्स क्याम्पस) छनोट हुनुभएको थियो ।

छनोट भएदेखि विद्यार्थीले विभिन्न संलग्नतामार्फत नेपालको सूचना प्रविधि उद्योगमा इन्साइट प्राप्त गरेका थिए । विद्यार्थीले गत अगस्ट १९ देखि अगस्ट २७ सम्म बैङ्ककमा आयोजित पहिलो क्षेत्रीय एन्साइट कार्यक्रममा भाग लिनुका साथै नयाँ प्रविधिका बारेमा सिकेका थिए ।

समापन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले संस्थाले युवामा लगानी गरेर भविष्यमा लगानी गरिरहेको बताउँदै विद्यार्थीले नेपालमा आफ्नो करियर अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । छनोट समितिका सदस्य प्रा डा शशिधर राम जोशीले सूचना प्रविधिसम्बन्धी ज्ञानले विद्यार्थीलाई आफ्ना विचार प्रस्ट्याउन मद्दत पुग्ने र उनीहरू भविष्यका उद्यमी बन्नसक्ने आशा व्यक्त गर्नुभयो ।

प्रा तिमिला यामी थापाले सिड्स फर द फ्युचर विद्यार्थीका लागि आफ्नो प्रतिभा र सीपलाई परिष्कृत गर्ने ठूलो अवसर भएको बताउनुभयो । प्रा डा सुवर्ण शाक्यले नेपाललाई सहयोग गरेकोमा ह्वावेप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल सरकारको ई–गभन्र्मेन्ट आयोगका प्रमुख कार्यकारी अधिकृत ई दिपेश विष्टले सानै उमेरमा ह्वावेको सिड्स फर द फ्युचर जस्तो प्लेटफर्म पाउने विद्यार्थी भाग्यमानी भएको बताउँदै नेपाललाई सूचना प्रविधिका क्षेत्रमा अझ राम्रो बनाउन प्रयास गरेकामा ह्वावेलाई धन्यवाद दिनुभयो ।

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले ह्वावेले प्रतिभाशाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइका लागि प्लेटफर्म उपलब्ध गराउन सक्षम भइरहन चाहेको धारणा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया