दसैँसँगै नेपालगञ्जमा रामलीला महोत्सवको रौनकता

  असोज १७, २०७९

राँझा, असोज १७ : नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दसैँ पर्वको रौनक ल्याएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५५ औैं संस्करण असोज १० गते घटस्थापनादेखि प्रारम्भ भएकोे छ ।

रामलीला महोत्सव यो वर्ष भव्यताका साथ सुरु भएकोे सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४ औं वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । दुई वर्ष रोकिएको रामलीला मञ्चन हेर्न यो वर्ष भक्तजनको उल्लेख्य सहभागिता हुने गरेको छ ।

सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजे देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रासलीला एवम् रामलीला मण्डल नेपालगञ्ज आएको छ । मण्डल सञ्चालक राधारमण शर्मा नेतृत्वको कलाकार टोलीले भगवान राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गरिरहेका छन् ।

रामलीलाको मञ्चन राज्याभिषेक अर्थात् विजयादशीको रातिसम्म चल्ने रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले जानकारी दिनुभयो । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको उहाँको भनाइ छ । रामलीला मञ्चनका लागि नेपालगञ्जको रामलीला मैदानको मञ्च दुलहीझैं सिङ्गारिएको छ । रामलीलालाई भव्य, सभ्य र सफल बनाउन विभिन्न उपसमितिमा जिम्मेवारी बाँडफाँट गरिएको छ ।

सञ्चालक समितिका अध्यक्ष कनोडियाका अनुसार रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको शुरुआत गरेका थिए । भारतको बृन्दावनबाट ल्याइएका कलाकारहरुले रामलीला मञ्चन गर्छन् । नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौंको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

नेपालगञ्जको परम्परालाई जोगाई राख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको रामलीला सञ्चालक समितिका प्रचारमन्त्री विष्णुलाल प्रजापतिले बताउनुभयो । उहाँका अनुसार रामलीला महोत्सव सञ्चालन गर्न करिव रु. १५ लाख खर्च हुन्छ । सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयहरुबीच लोकप्रिय छ । भारतको उत्तरप्रदेशबाट समेत हजारौं श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका छन् ।

श्रीरामको जीवन चरित्र नाटक मञ्चन
यो वर्ष भारतको वृन्दावनबाट आएका कलाकारले नाटक मञ्चन गरिरहेका छन् । यसअघि पनि भारतका विभिन्न स्थानका कलाकारहरू आउने गरेका थिए । नेपालको जनकपुरबाट पनि केही वर्षअघि कलाकार ल्याएर रामलीला मञ्चन गराइएको प्रचारमन्त्री विष्णु कुम्हालले बताउनुभयो ।

कुम्हालका अनुसार जङ्गबहादुर राणाले नेपालगञ्ज शहर बसालेदेखि नै मनोरञ्जनका लागि स्थानीय बासिन्दाको सहयोगमा भगवान श्रीरामको कथामा आधारित नाटक मञ्चन गर्न थालिएको हो । गोस्वामी तुलसी दासले श्रीराम चरित्र मानस अवध भाषामा अनुवाद गरेपछि रामलीला मञ्चन गर्न सहज भएको कुम्हाल बताउनुहुन्छ । रामलीलामा श्रीरामको जीवन चरित्र देखाइने कलाकारहरू बताउँछन् ।

भगवान राम र सीताको जीवन लीलालाई कलाकारहरूले घटस्थापनादेखि प्रत्येक दिन राति ८ बजेदेखि १२ बजेसम्म मञ्चन गर्ने गर्छन् । विजयादशमीको दिन रावण वध गरी एकादशीको रात भरतसँगको मिलाप र त्रयोदशीको रात रामको राज्याभिषेक गरी नाटक अन्त्य गरिन्छ ।

रामलीलाले बढायो दशैँको रौनक
घटस्थापनादेखि नेपालगञ्जस्थित रामलीला मैदानमा सुरु भएको रामलीला मञ्चनसँगै नेपालगञ्जमा दशैँको रौनक बढेको छ । यस वर्ष रामलीला हेर्नेको सङ्ख्या तीन गुणा बढेको प्रचारमन्त्री कुम्हालले बताउनुभयो । उहाँले रामलीला मञ्चन हेर्न गाउँ–गाउँबाट ट्याक्टर चढेर सर्वसाधारण आउने गरेको बताउनुभयो ।

पहिलेदेखि नै हेर्दै आएको रामलीला दुई वर्ष हेर्न नपाउँदा न्यास्रो मानेका सर्वसाधारण यस वर्ष उत्सुकताका साथ सहभागी भएका छन् । गाउँबाट हुल बाँधेर सर्वसाधारण आएपछि कलाकार उत्साहित भएका छन् । “कोरोनाका कारण दुई वर्ष महोत्सव नलागेकोले यस वर्ष रामलीला हेर्नेको भिड लागेको हो”, उहाँले भन्नुभयो,“जतिजति रात छिप्पिँदै जान्छ उतिउति दर्शकको सङ्ख्या बढ्दै जान्छ ।”

दशैँको अवसरमा समुदायमा सकारात्मक सन्देश फैलाउन र रामराज्यको अनुभूति दिलाउन रामलीला महोत्सवलाई निरन्तरता दिईएको रामलीला सञ्चालक समिति सदस्य नन्दलाल बैश्यले उल्लेख गर्नुभयो । घटस्थापनादेखि सुरु हुने रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, वाणासुर, सीता स्वयम्बर, राम वनवास, दशरथ मरण, सीताहरण, लङ्का दहन, लक्ष्मण शक्ति वाणको लीलालगायत प्रदर्शन हुने गरेको उहाँको भनाइ छ ।

विजयादशमीका दिन ४५ देखि ५० फिटको रावणको पुत्ला दहन गरी महोत्सव समापन हुने गर्दछ । विजयादशमीका दिन अपराह्नदेखि नै विशेष लीला मञ्चन गरी रावण बध गरिन्छ । सो दिन जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट समेत मानिस आउँछन् । भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाट्य रूपमा प्रस्तुत रामलीला महोत्सवमा गरिन्छ । यो क्रम रावण बध नहुञ्जेलसम्म चल्छ ।

“सत्यमाथि विजयको प्रतीकको रूपमा मनाइने दशैँभरि सहरमा रामलीलाको रौनक हुन्छ । रामले अन्यायका लागि लडेको कथा र प्रजालाई गर्ने व्यवहारबारे प्रस्तुत गरिन्छ”, रामलीला सञ्चालक समिति सदस्य बैश्यले भन्नुभयो, “रामलीलाले युवालाई सकारात्मक सन्देश दिन्छ । रामलीला हाम्रो संस्कृति बनिसक्यो । भगवान् रामको आदर्श र मर्यादाको प्रचारका लागि पुर्खाले सुरुआत गरेका हुन् ।”

जीवन्त कला, अर्थात भगवान श्रीरामको जीवन लीलालाई वृन्दावनबाट आएका भारतीय कलाकारहरुले हरेक दिन प्रस्तुत गर्नेछन् । यो क्रम एक सय ५५ वर्षदेखि चलिआएको प्रामाणिक तथ्य छ । विसं १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदैआएको यो कला नेपालीमाझ जति परिचित छ, त्योभन्दा कयौँ गुणा भारतीयहरूबीच लोकप्रिय छ । “भगवान श्रीरामलाई जीवन्त प्रस्तुत गर्दै मानव जीवनलाई कर्तव्यबोध गराउन नेपालगञ्जमा डेढसय वर्षदेखि कला प्रस्तुत हुँदै आएको छ रामलीला”, अध्यक्ष कनोडियाले भन्नुभयो, “धार्मिक आस्थाले मानव सभ्यतालाई मर्यादित बनाउँछ । अनुशासित जीवन पद्धतिका लागि पनि यो अपरिहार्य हुन्छ, नेपालगञ्जकै मौलिक इतिहासलाई थामेर हिंडेको छ, रामलिलाले ।”

नेपाली र भारतीय दर्शकमाझ लोकप्रिय
सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीमाझ जति परिचित छ, त्यो भन्दा कयौं गुना भारतीयहरुबीच लोकप्रिय छ । बाँकेको आसपासका जिल्ला दाङ, बर्दिया र सुर्खेतसहित भारत उत्तर प्रदेशबाट समेत हजारौँ दर्शक आउने गरेको पाइन्छ ।

भारतको श्रावस्ती र बहराइच जिल्लाबाट रामलीला हेर्न आएका दर्शकहरूले १०÷१२ वर्षदेखि निरन्तर अवलोकन गर्दै आएको बताउँछन् । भारतको बहराइच जिल्ला नानपाराबाट आएका अशोककुमार यादवले प्रत्येक वर्ष नेपालगञ्ज आएर रामलीला हेर्ने गरेको बताउनुभयो । नेपालगञ्ज–२१ पुरैनाकी सिर्जना थापाले एकपटक हेरेपछि पनि दिनैपिच्छे अब के हुन्छ ? भन्ने जिज्ञासा लागिरहने बताउनुभयो ।

रावण वध गरेको दिन दर्शकको सङ्ख्या उल्लेख्य हुने भएकाले मैदान भरिभराउ हुने गर्दछ । “भारतको उत्तरप्रदेशबाट लाखौं श्रद्धालुहरु यस अवधिमा रामलिला दर्शनका लागि आउने गर्छन् । बरु नेपालमै कसरी प्रचारप्रसार गर्ने भन्नेमा केन्द्रित हुनु पर्ने भएको छ”, रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले चिन्तित हुँदै भन्नुभयो,“भारतीय युवामाझ लोकप्रिय हुँदै गएपनि नेपाली युवामा आकर्षण बढाउन सकिरहेका छैनौँ ।” भारत उत्तरप्रदेशको बहराइच श्रावस्ती लखिमपुर खिरिसम्मबाट रामलीला हेर्न आउनेहरुको घुइँचो हुन्छ । रावण वधका दिन सबैभन्दा बढी भिड लाग्ने आयोजकको भनाइ छ ।

लाखौँ खर्च गरेर कलाकार ल्याइने
रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । सात्विक दिनचर्याबाट अनुबन्धित कलाकारलाई साक्षात् भगवान श्रीराम, माताश्री सीता मानेर खुट्टा ढोग्नेजस्ता आस्था प्रकट गर्न श्रद्धालुको भिड लाग्ने गरेको छ । अध्यक्ष कनोडियाले समुदायस्तरबाट डेढसय वर्षदेखिको यो अद्भुत कलालाई निरन्तरता दिन भइरहेको प्रयास चुनौतीपूर्ण रहेको बताउनुहुन्छ ।

स्थानीय समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न स्थानीय सरकारको सहयोग आवश्यक देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलीला नेपालगञ्जको परिचय भइसकेको बताउनुभयो । डेढसय वर्षदेखि निरन्तर चल्दै आएको रामलीलालाई भव्य र सभ्य बनाउनु नेपालगञ्जवासी सबैको दायित्व भएको उहाँको भनाइ छ ।

नेपालगञ्जमा रामलीला महोत्सवको रौनक
विजयादशमीको अवसरमा प्रत्येक वर्ष नेपालगञ्जमा आयोजना गरिने रामलीला मञ्चनको यस विशेष रौकता छ । रामलिला नाटक हेर्नका लागि अहिले दैनिक हजारौँ सर्वसाधारणको भीड लाग्ने गर्दछ ।

नेपालगञ्ज उपमहानगरपालिका–१३ बाँकेगाउँस्थित रामलीला मैदानमा आइतबार साँझदेखि रामलीला मञ्चन सुरु भएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताउनुभयो । उहाँका अनुसार सत्यमाथि विजयको प्रतिकका रूपमा मनाइने दसैंको पहिलो दिन घटस्थापनादेखि विजया दशमीको दिनसम्म राति ७ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन भइरहेको छ । रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रामलीला एवं रामलीला मण्डलका सञ्चालक राधारमण शर्मा नेतृत्वको २५ कलाकारको टोलीले भगवान राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गरिरहेको सञ्चालक समितिका प्रचारप्रसार उपसमितिका संयोजक विष्णुलाल कुमालले बताउनुभयो ।

महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, प्रशुराम, बाणासुर लिला, सीता स्वयम्बर, राम वनबास, दशरथ मरण, सीताहरण, लीला प्रदर्शन, लङ्कदहन, लक्ष्मण शक्ति, कुम्भकर्ण बध, रावण बध र राज्यअभिषेकका लीला प्रदर्शनको कार्यक्रम भइरहेको आयोजक समितिका अध्यक्ष कानोडियाले बताउनुभयो । उहाँका अनुसार करिब रु १५ लाख बढीको लागतमा रामलीला महोत्सव तथा मेलामा बाँके र बर्दियाका विभिन्न ग्रामीण क्षेत्र तथा सीमावर्ती क्षेत्रबाट सैयाँै नागरिक आउने गर्दछन् ।

रामलीला मैदानमा भइरहेको मञ्चनमा राति बच्चाका लागि खैलौना, पिङ, झुला, चिप्लेटी रहेको छ, भने मिठाइका पसल, चाट, बदाम पानलगायत खोन्चा पसल समेत थापिएका छन् । डेढसय बढी वर्षदेखि नेपालगन्जमा आयोजना हुदै आएको रामलीला मञ्चनले एउटा धार्मिक परम्पराको संरक्षण तथा नया पिँढीलाई जागरुकताको सन्देश प्रवाह गरेको रामलिला मञ्चनमा भेटिनुभएका नेपालगञ्ज–७ का विश्वजित तिवारी बताउनुहुन्छ । उहाँले भन्नुभयो–“यो एउटा ऐतिहासिक पर्व हो, यो पर्वले हिन्दू समुदाय विशेष गरी अवधि संस्कृतिको जर्गेना गर्ने काम गरेको छ ।”

रामलीलाको अन्तिम तयारी, अवलोकनको सहज व्यवस्था र शान्ति सुरक्षालगायको तयारी गरिएको सञ्चालक समितिका सदस्य भरतकिशोर वैश्यले बताउनुभयो । रामलिला सञ्चालक समितिले रामलीला मञ्चनको एक सय ५३ वर्षमा पहिलो पटक रामलिला मञ्चन स्थगित गरेको हो । एक सय ५३औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि सार्वजनिक रुपमा नमनाइए पनि सोही स्थानमा विशेष पूजापाठ गरी मनाइने गरिएको थियो । (रासस)

तपाईको प्रतिक्रिया