बैतडीमा भगवती मन्दिरमा बलिसहित जात्रा

  असोज १७, २०७९

बैतडी, असोज १७ : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज बलिसहित जात्रा हुँदैछ । दशरथचन्द नगरपालिका– २ देहीमामाडौंमा रहेको उक्त मन्दिरमा आइतबार विषेश पूजाआजासहित जात्रा सुरु भएकामा आज पशु बलि हुन लागेको हो ।

निङगलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराका अनुसार घटस्थापनादेखि नित्य पूजा भई महासप्तमीको अवसरमा विषेश पूजाआजा र आज बलिसहित जात्रा भएको छ । हरेक वर्षको महाष्टमीमा निङलाशैनी भगवतीमा बोका र राँगाको बलिसहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगाबोका पु¥याउने चलन रही आएको छ ।

महाष्टमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको छ । महाअष्टमीका दिन सुदूरपहाडमै बढी सङ्ख्यामा यहाँ पशुबलि दिइन्छ । निङलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनसमेत आउने गरेको स्थानीय रमेश बोहराले बताउनुभयो । जात्राका लागि नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थी पुगेका छन् । निङलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ ।

निङ्लाशैनी भगवती मन्दिरमा एक वर्षमा चार पटक जात्रा हुने गर्दछ । महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भए पनि अनन्त चतुर्दशी र मङ्सिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ ।

यसैबीच निङ्लाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्नका लागि देहीमाडौँ क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेला अवधिभर देहीमाडाँैं बजार र आसपासका क्षेत्रमा मदिरा सेवन र बिक्रीमा रोक लगाइएको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताउनुभयो ।

मदिरा सेवन र बिक्रिका कारण विभिन्न खालका समस्या उत्पन्न हुने भएकाले दसैंको अवधिसम्म मन्दिर आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको हो । मदिराको कारोबार गर्ने र सेवन गर्नेलाई कानुनी कारबाही गरिने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया