चार जनाको प्रयासले ४२ जनालाई रोजगारी

  असोज १७, २०७९

बेनीबजार, असोज १७ : हिमाली जिल्ला म्याग्दीका केही युवाको प्रयासले गर्दा युवालाई रोजगारको अवसर सिर्जना भएको छ । सदरमुकाम बेनीमा पाँच जना युवाले थालेको छुट्टाछुट्टै पेशा तथा व्यवसायबाट उहाँहरु आफू स्वरोजगार हुँदै अन्य युवालाई पनि रोजगारी प्रदान गरेका हुन् ।

बेनीबजारको गणेशटोलमा डिजी प्रिन्टका सञ्चालक भीमनाथ शर्माले थालेको डिजी प्रिन्टिङ एण्ड सोलुसनबाट अहिले नौ जनाले रोजगारी पाएका छन् । शर्मा आफैँ पनि यही व्यवसायमै आबद्ध हुनुहुन्छ भने उहाँसहित तीनजना कम्प्युटर अपरेटर, दुईजना प्रेस अपरेटर, एकजना बजार व्यवस्थापक, एकजना काउण्टर, एकजना स्कृन प्रिन्ट र एकजना फ्रेम निर्माणमा गरी नौ जनाले डिजी प्रिन्टमा रोजगारी पाएका छन् ।

बेनी नगरपालिका–१०, पात्लेखेतका स्थायी वासिन्दा शर्माले २०७० सालदेखि व्यवसाय सञ्चालन गर्नुभएको हो । विदेश मात्रै जाने भन्दा पनि हामी आफैले यही प्रयास गर्दा पनि केही गर्न सकिएला भनेर गरेको प्रयासले आफू मात्रै नभएर अन्य सात जनालाई पनि रोजगारी दिन सकेकोमा खुशी लागेको उहाँको भनाइ छ । दर्ता तथा अनुमति लिनुपर्ने सबै निकायमा लिपिबद्ध गरेर व्यवसाय गर्दा कुनै समस्या नहुने उहाँले बताउनुभयो ।

यसैगरी, मंगला गाउँपालिका–४, बरंजाका दुर्गालाल कँडेल वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमरेष्टको दुबई शहर पुग्नुभएको थियो । उहाँ झण्डै दुईलाखको मासिक तलब छाडेर चार वर्ष अगाडि नेपाल फर्किनुभयो । त्यसपछि उहाँले बेनी नगरपालिका–८, शिक्षामार्गमा मनकामना बेकरी सञ्चालन गर्दै आउनुभएको छ ।

डेरी उद्योगसँगै बेकरी उद्योग सञ्चालन गर्नुभएका उहाँले युएईमा सर्भकोर्प एलएलसी कम्पनीमा चारवर्ष काम गर्नुभएको थियो । अहिले उहाँको बेकरीमा मिस्त्री दुईजना, हेल्पर दुईजना, सेल्समेन एकजना, काउन्टर सेल्सपर्सन एकजना, केक सेफ एकजना र आफू स्वयं पनि काम गर्नुहुन्छ ।

त्यस्तै, बेनी नगरपालिका–९, घताका सन्दीप खत्रीले २०७४ सालबाट बेनीको गणेशटोलमै लालिगुराँस अफसेट एण्ड फ्लेक्स प्रिन्ट सञ्चालन गर्दै आउनुभएको छ । उहाँको व्यवसाय मूल्य अभिवृद्धि कर (भ्याट)मा सञ्चालित छ ।

मेसिनमा तीनजना, कम्प्युटर अपरेटर खत्रीसहित दुईजना, मार्केटिङमा एकजना, व्याण्डिङमा दुईजना, फ्लेक्स प्रिन्टमा एकजना र काउन्टरमा एकजना गरी १० जनाले रोजगारी पाएका छन् ।

सञ्चालक खत्री आफैँ पनि त्यही काम गर्नुहुन्छ । म्याग्दीमै जन्मिएर हुर्केर यही जिल्लामै व्यवसाय गर्दा राम्रो सहयोग त मिल्छ नै त्यसमाथि पनि आफूले अरु युवालाई समेत रोजगार दिन पाउनु पनि सबल पक्ष भएको खत्री बताउनुहुन्छ ।

त्यसैगरी शिवपुरी गाउँपालिका–३, नुवाकोट जिल्ला घर भई बेनीमा लामा रेष्टुरेन्ट तथा लामा कुदाप सञ्चालन गर्नुभएका राजन लामाले आफूसहित १५ जनाको लागि रोजगारी सिर्जना गर्नुभएको छ । लामाकहाँ किचननमा पाँचजना, सहयोगी तीनजना, वेटर पाँचजना एवं उहाँका पतिपत्नी दुवै जनाले काउण्टर चिफको रुपमा काम गर्दै आउनुभएको छ ।

लामो समयसम्म होटल तथा रेष्टुरेन्ट क्षेत्रमै सक्रिय लामाले पछिल्लो समय आफ्नै प्रयासमा बेनीबजारको हस्पिटलचोकमा लामा कुदाप र गणेशटोलमा लामा रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ । ग्राहकको माग अनुसारको खानाको परिकार उपलब्ध गराउन सकेकै कारण उहाँको व्यवसाय फस्टाउँदै गएको छ ।

२०५९ सालमा नुवाकोटबाट बागलुङ आउनुभएका लामा २०६२ मा बेनी आउनुभएको थियो । त्यसपछि २०७२ सालदेखि उहाँले आफ्नै व्यवसाय सञ्चालन गर्न थाल्नुभएको हो ।

म्याग्दी क्षेत्रमा होटल तथा रेष्टुरेन्ट व्यवसायमा सेवा सुविधा र फरक स्वाद भित्र्याउन उहाँको महत्वपूर्ण भूमिका छ । फरक स्वादकै कारण आफ्नो होटलमा ग्राहकको घुइँचो लाग्ने गरेको उहाँले दावी गर्नुभयो । युवाले थालेको पेशा तथा व्यवसायबाट उनीहरु सफल उद्यमी बन्नुका साथै अन्य युवा पनि उद्यमी बन्नेतर्फ आकर्षित भएका छन् ।

चारजना युवाले गरेको फरक पेशा तथा व्यवसाय रोजगारीको सिर्जना हुनुका साथै युवालाई उद्यमी बन्न प्रोत्साहन मिलेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

युवाले थालेको व्यवसायलाई म्याग्दी उद्योग वाणिज्य संघले पनि सहयोग गरेको बताउँदै उहाँले युवाले व्यवसाय गर्दा गुणस्तरमा राम्रो हुनुका साथै सेवा पनि छिटोछरितो हुने भएकाले उहाँहरुको व्यवसाय राम्रोसँग चलेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया