कलाकार उत्तम डङ्गोलको एकल पौभा चित्रकला प्रदर्शनी

  असोज १७, २०७९

ललितपुर, असोज १७ : कलाकार उत्तम डङ्गोलको एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ । ललितपुरको पाटन सङ्ग्रहालयमा बुधबारबाट प्रदर्शनीको शुभारम्भ भएको हो । प्रदर्शनीमा डङ्गोलले सृजना गर्नुभएको ३५ थान चित्र प्रदर्शित छन् ।

हिन्दु तथा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न देवदेवीका पौभा चित्र प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीले जनमानसमा कलाको महत्वलाई स्थापित गर्दै नेपालको मौलिक कला पौभालाई अझ प्रचारप्रसार गर्ने उद्देश्य रहेको कलाकार उत्तम डङ्गोल बताउनुहुन्छ ।

 

विशेषतः मूर्तिकारका रुपमा परिचित कलाकार डङ्गोलले समसामयिक विधाका चित्रकला बनाउनुहुन्छ । यद्यपि यस प्रदर्शनीमा उहाँले नेवाः समुदायको मौलिक कलाशैलीलाई अपनाउनुभएको छ ।

प्रदर्शनीको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गर्नुभएको हो । उहाँले कला र संस्कृतिको विकास र संरक्षणले मात्रै मौलिकता बच्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले भन्नुभयो –‘‘कलाकार डङ्गोलले नेपालको मौलिक पौभा कला प्रदर्शनी गरी संस्कृति जर्गेनामा योगदान दिनुभएको छ, पौभा कलालाई संरक्षण, विकास तथा प्रवर्धनसँगै उद्योगका रुपमा विस्तार गरी कला र कलाकारको जीवनस्तर उकास्ने गरी काम गर्नुपर्छ ।’

ललितकला गुठी, उसमाज कलेक्सन र ज्यापू समाजले आयोजना गरेको प्रदर्शनी १० दिनसम्म चल्ने कलाकार डङ्गोलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया