देशभरका पूजा कोठा एवं दसैँ घरमा यसरी भित्र्याइयो फूलपाती

  असोज १६, २०७९

काठमाडौं, असोज १६ : आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजा कोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजाआराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

हनुमानढोकाको दसैँ घरमा भित्र्याइयो फूलपाती
यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना हुने हनुमानढोका दरबारको दसैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, नेपाली सेनाको गुर्जुको पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको हो । यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उहाँले बताउनुभयो ।

हनुमानढोका दरबारको नासलचोकमा पूजा, मूल चोकमा बलिसहित पूजा गरेपछि दसैँ घरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्र रहुन्जेलसम्म हनुमानढोका दरबारको दसैँ घरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने कहिले संस्कृतिमन्त्री त कहिले सचिव उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

हनुमानढोकामा भित्र्याउन आज बिहानको साइतमा गोरखाबाट फूलपाती काठमाडौँ ल्याइएको थियो । नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि गोरखाबाट फूलपाती ल्याई भित्र्याउने गरिएको हो ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीहरुको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गरेको छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ । बजारमा आज पनि किनमेल गर्नेको भीड देखिन्छ । विशेषगरी खाद्यसामग्री र कपडा, जुत्ता, चप्पलका पसलमा मानिसको भीड छ ।

गोरखा दरबारमा साँझको शुभसाइतमा फूलपाती भित्र्याइयो
गोरखा दरबारको दसैँघरमा आज साँझको शुभसाइतमा फूलपाती भित्र्याइएको छ । दिउँसो करिब ४ बजे गोरखा दरबारदेखि निस्किएको लावा लस्करको टोलीले साँझको शुभसाइतमा फूलपाती चौताराबाट बाजागाजासहित गोरखा दरबारमा फूलपाती पु¥याएर भित्र्याएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

दरबारको दसैँघरमा विधिपूर्वक पूजाअर्चना गरी सुसारेहरुले साँझ दरबारमा फूलपाती भित्र्याइएको उहाँले बताउनुभयो । गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फूलहरुलाई फूलपातीका रूपमा दरबार भित्र्याइएको प्रमुख भुसालले जानकारी दिनुभयो । गोरखा दरबारका सुसारेहरुले जङ्गलबाट जम्मा गरेर ल्याएको फूलपाती लिन दसैँघरदेखि हर्ष बढाइँका साथ दरबार हेरचाह अड्डाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको लावालस्करहरु शतिपीपल डाँडामा पुगेका थिए ।

फूलपाती भित्र्याउनुपूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरुले मङ्गल गीत र मालश्री राग गाउँदै, बन्दुकेहरु हर्ष बढाइँ गर्दै र भार बोक्ने भारवाहकहरु फूलपानी पर्सने सिँढीसम्म आइपुगेका थिए । गोरखा दरबारको सिँढीमा विशेष पूजा गरेर गोरखा दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारमा हरेक वर्ष भने दरबारबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाम माथि देखिने समयमा दरबारको दसैँ घरमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारको दसँै घरबाट काठमाडौँको हनुमानढोका दसैँ घरमा बिहानको साइतमा फूलपाती पठाइएको थियो ।

भोजपुरको निशान भगवतीबाट १८ वर्षपछि भित्र्याइयो फूलपाती
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा स्थापना गरेको भोजपुरको निशान भवगती मन्दिरबाट करिब १८ वर्षपछि फूलपाती भित्र्याइएको छ । विसं १८२६ तिर स्थापना भएको यो मन्दिरबाट यस वर्ष भने तामझामका साथ फूलपाती भित्र्याइएको हो ।

विसं २०६१/६२ सम्म भव्यरूपमा यहाँदेखि फूलपाती भित्र्याउने चलन भए पनि त्यसयता फूलपाती भित्र्याइन छाडिएको थियो । यस वर्ष भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सर्वसाधारणले यही मन्दिरबाट फूलपाती भित्र्याएका हुन् ।

बन्द भएको फूलपाती भित्र्याउने चलन यस वर्षदेखि पुनः सञ्चालन भएकाले भोजपुरको इतिहास बोकेको मन्दिरको संरक्षण गर्दै आगामी दिनमा पनि यो चलनलाई निरन्तरता दिनुपर्ने स्थानीयवासी प्रवीनकुमार सुवालले बताउनुभयो । “विगतका वर्षमा यहाँ फूलपाती भित्र्याउनका लागि मानिसहरुको भीड हुन्थ्यो”, सुवालले भन्नुभयो, “तर करिब १८ वर्षअघि देखि चलन हटेको थियो । यो एउटा इतिहास बोकेको मन्दिर हो । पराम्परालाई आगामी दिनमा निरन्तरता दिँदै मन्दिरको पनि संरक्षण गर्न आवश्यक छ ।”

फस्र्ट राइफल गण भोजपुरको पहलमा यस वर्ष यहाँबाट फूलपाती भित्र्याइएको हो । सिद्धकाली मन्दिरमा पूजाआजापछि यहाँ आएर सुरक्षा निकायसँगै सर्वसाधारणले पनि फूलपाती भित्र्याएका हुन् । कारागार कार्यालय नजिकै मन्दिर रहेकाले सुरक्षाका कारण पूजाआजामा केही कठिनाइ रहे पनि यसको संरक्षण अति आवश्यक रहेको स्थानीयवासी जीवन श्रेष्ठले बताउनुभयो ।

गरुण दल गुल्म रहँदासम्म यहाँ भव्यरूपमा पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि पराम्परा लोप हँुदै गएको उहाँको भनाइ छ । विसं २०३९ मा यहाँबाट गुल्म स्थानान्तरण भएको श्रेष्ठले जानकारी दिनुभयो । गुल्म स्थानान्तरण भएसँगै गुल्मले आफ्नो निशान लगेपछि क्रमिकरूपमा यो चलन लोप हुँदै गएको उहाँले बताउनुभयो । पुनः निशान भगवतीको मूर्ति स्थापना गरेर यहाँको इतिहासलाई जोगाउनुपर्नेमा उहाँको जोड छ ।

“नेपाल एकीकरणको समयमा स्थापना भएको निशान मन्दिर हो”, श्रेष्ठले भन्नुभयो, “त्यो बेला बडाहामिक बस्ने भएकाले यहाँ भव्यरूपमा फूलपातीसँगै अन्य अवसरमा पूजाआजा हुन्थ्यो । गुल्म गएपछि निशान लग्यो । त्यसपछि मन्दिर संरक्षणविहीन बन्यो । २०६०/६१ सालपछि फूलपाती भित्र्याउने चलन पनि हट्यो ।”

मन्दिर कारागार परिसर नजिकै रहेकाले सुरक्षाका कारण पूजाआजामा जान केही असहज रहेको छ । यहाँको ऐतिहासिक महत्वलाई जोगाउनका लागि मन्दिरमा निशान भगवतीको मूर्ति स्थापना गर्न पहल गर्नुपर्ने भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो । यो क्षेत्रको संरक्षण गरेर धार्मिक पर्यटनका रूपमा विकास गर्नुपर्ने प्रधानको भनाइ छ ।

“यो मन्दिरको संरक्षण गर्दै धार्मिक पर्यटनका रूपमा विकास गर्न सकिन्छ”, वडाध्यक्ष प्रधानले भन्नुभयो, “यहाँ सर्वसाधारणको सहज पहुँचको वातावरण बनाएर मन्दिरलाई संरक्षण तथा जगेर्ना गर्नु आवश्यक छ । यसका लागि सरोकारवाला पक्षसँगै स्थानीय नागरिक जुट्नुपर्छ ।”

इतिहास बोकेको मन्दिरबाट लामो समयपछि फूलपाती भित्र्याएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । विगतको समयमा भएको निशान भगवती मन्दिर भत्किएपछि २०६९ सालमा जीर्णोद्धार गरेर अर्को मन्दिर स्थापना गरिएको छ । त्यस समयमा बलि दिनका लागि राखिएको मौलो राखिएको ठाउँसमेत परिवर्तन गरिएको छ । यहाँ रहेका कतिपय पुरातात्विक महत्वका संरचनाहरु भत्किसकेका छन् । मौलिकतालाई कायम राख्दै मन्दिरलाई संरक्षण गरिनुपर्नेमा स्थानीयवासीले आवाज उठाएका छन् ।

जिल्लाको पहिचानका रूपमा रहेको मन्दिरको संरक्षणमा स्थानीय सरकारले पनि ध्यान नदिएको उनीहरुको आरोप छ । मन्दिरको संरक्षणसँगै उचित व्यवस्थापनका लागि भोजपुर नगरपालिकाले ध्यान दिनुपर्ने स्थानीय भुपाल कार्कीले बताउनुभयो । “हाम्रो जिल्लामा यति धेरै ऐतिहासिक महत्व बोकेको ठाउँ भए पनि उचित संरक्षण हुन सकेको छैन”, कार्कीले भन्नुभयो, “यस्ता ऐतिहासिक धरोहरको विकास तथा संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिन आवश्यक छ । तर यतिका वर्षसम्म पनि स्थानीय सरकारले संरक्षणमा ध्यान दिएको देखिँदैन ।”

तपाईको प्रतिक्रिया