तुम्लिङ र ताक्चीमा झोलुङ्गे पुल निर्माण कार्य सुरु

  असोज १४, २०७९

हुुम्ला, असोज १४ : नाम्खा गाउँपालिका –६ को हिमालपारिको गाउँ लिमीको तुम्लिङ र ताक्ची नदीमा नयाँ झोलुङ्गे पुुलको निर्माण कार्य सुुरु भएपछि स्थानीय बासिन्दा खुसी हुनुुभएको छ । वर्षौदेखि लिमी कर्णालीमा पुल नहुँदा लिमीवासीका साथै लिमी जाने जोकोहीलाई आउजाउ गर्न असजिलो भएपछि पुुल निर्माण कार्य सुुरु भएको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले झोलुुङ्गे पुुल अति आवश्यक रहेको तुम्लिङ र ताक्चीमा माग गरेको ३० वर्षपछि यस आर्थिक वर्षभित्र पुुल निर्माण कार्य सम्पन्न हुनेगरी काम सुुरु भएकोमा खुसी ब्यक्त गर्नुभयो । पुुल नहुुँदा लिमीवासीलाई बर्खा र हिउँदको समयमा आउजाउ गर्न असजिलो हुनेगर्थ्याे । धेरै पहिलेबाट पुल निर्माणका लागि माग गरिएको भए पनि सुनुवाइ भएको थिएन । यस पटक सङ्घीय सरकार अन्तर्गतको झोलुुङ्गे पुुल कार्यक्रमबाट सो पुुल बन्न लागेको बताउनुुभयो ।

पुुल निर्माणपछि लिमी तथा लाप्चा जान सहज हुने स्थानीयको भनाइ छ । पुल नभएका कारण मानिसहरु नदीमा पानी कम भएपछि तर्ने वा ठूला ट्रकमा यात्रा गर्छन् । पुल नहुँदा लिमीका स्थानीय धेरै पशुुबस्तुुहरु नदीले यसअघि बगाइसकेको छ । केही समय अगाडि कार्यक्रम इन्जिनियरको टोली तुम्लिङ र ताक्ची पुुगेर पुुलको  डिजाइन गरेको थियो ।

पुल निर्माण जिम्मा पाएको कङ्ग्री निर्माण सेवाका प्रोप्राइटर छिरिङ लामाले दुुवै पुुलको प्राविधिकद्वारा डिजाइनको काम भएपछि कार्यक्रमसँग सम्झौता भएर पुुलको फाउण्डेसन निर्माण सुुरु भएको बताउनुुभयो । मौसमले साथ दिएमा आगामी मङ्सिरसम्ममा काम अघि बढाउने उहाँले बताउनुभयो ।

हिउँदमा हिमपात भएपछि काम गर्न सम्भव छैन । पुलको स्टिल पार्टका सामान र सिमेन्ट बाहिरबाट ढुवानी गरेर ल्याउनुपर्ने हुन्छ । पुुल निर्माणका लागि कम्पनीसँग कार्यक्रमले तीन करोड लागतमा सम्झौता गरेको छ ।

तपाईको प्रतिक्रिया