टुरिजम गल्फमा सुवास च्याम्पियन

  असोज १४, २०७९

काठमाडौं, असोज १३ : नेपाल टुरिजम एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि सुवास तामाङले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न तीन दिने ५४ होलको प्रतियोगितामा सुवासले कूल १० अन्डर २०८ खेल्नुभयो ।

अन्तिम राउन्डमा सुवासले तीन अन्डर ६९ खेल्नुभएको थियो । १३ स्ट्रोकले पछि पर्नुभएका तासी छिरिङ दोस्रो हुनुभयो । उहाँले कूल तीन ओभर दुई सय १९ खेल्नुभयो । कूल पाँच ओभर दुई सय २१ खेल्नुभएका वानचेन ढोन्डुप तेस्रो हुनुभयो ।

महिलातर्फ कस्मिरा शाह पहिलो हुनुभयो । शाहले कूल २४ ओभर दुई सय ४० खेल्नुभयो । दुई सय ६१ खेल्न सफल सुस्मा सिग्देल दोस्रो र दुई सय ६३ खेल्नुभएकी सोनिया अख्तर तेस्रो हुनुभयो ।

प्रतियोगितामा ३४ खेलाडीले भाग लिएका थिए । बिहीबार भएको १८ होलको छुट्टै प्रतियोगितामा नोर्वु छिरिङ शेर्पा पहिलो हुनुभयो । स्वटेबल फोर्ड विधामा खेलाइएको प्रतियोगितामा शेर्पाले ३९ अङ्क बनाउनुभयो ।

डुन्डुल नाम्ग्याल दोस्रो हुनुभयो । उहाँले ३५ अङ्क जोड्नुभएको थियो । महिलातर्फ अस्टिन टन्डन पहिलो र आर्सिया बुनु दोस्रो हुनुभयो । सिनियरतर्फ विजय मोक्तान पहिलो र एमबी राउत दोस्रो हुनुभयो । जुनियरतर्फ अभिमन्यु कार्की पहिलो हुनुभयो ।

लङ्गेस्ट ड्राइभको पुरस्कार शेख अलि लक्की र मोस्ट बर्डीको पुरस्कार मुकेश जोशीले जित्नुभयो । बिहीबारको प्रतियोगितामा ७२ खेलाडीले भाग लिएका थिए । नेपाल गल्फ सङ्घले आयोजना गरेको प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज लगायतले पुरस्कार प्रदान गर्नुभयो ।

तपाईको प्रतिक्रिया