आर्मीका बस्नेतलाई रोड रेस उपाधि

  असोज १४, २०७९

हिले, असोज १३ : धनकुटामा सम्पन्न रोड रेस प्रतियोगिताको खुला तर्फको उपाधि नेपाल आर्मीका देवराज बस्नेतले जित्नु भएको छ । विश्व मुटु दिवसको अवसर पारेर बिहीबार धनकुटामा आयोजना गरिएको प्रतियोगितामा बस्नेतले १५ किलोमिटर दुरी दौड एक घण्टा एक मिनेट १९ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।

उपाधिसँगै बस्नेतले ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो । बस्नेत नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा कार्यरत हुनुहुन्छ । यस्तै सञ्जय श्रेष्ठ दोस्रो र प्रताप खड्का तेस्रो हुनुभयो । गोविन्द कार्की र याङदेब राईले सान्त्वना पुरस्कार जित्नुभयो । उहाँहरूले क्रमशः २० हजार, १० हजार,  २५ सय र २ हजार रुपियाँ पाउनुभयो ।

महिलातर्फको उपाधि सुनकला राईले जित्नुभयो । महिलातर्फ आठ किलो मिटर मात्र दौड समावेश गरिएको थियो । राईले निर्धारित दुरी ५६ मिनेट दुई सेकेण्डमा पार गर्नुभयो । उपाधिसँगै राईले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । रेनुका कार्की दोस्रो र कल्पना राई तेस्रो हुनुभयो । दोस्रोले सात हजार र तेस्रो हुनेले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

पूर्व प्रहरी संस्था धनकुटाले आयोजना गरेको प्रतियोगितामा खुल तर्फ ७८ जना र महिलामा नौ जना धावकको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा धनकुटाका धावक डेबिट खेवालाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया