चार दिनमा दुई लाख ५९ हजारले उपत्यका छाडे

  असोज १४, २०७९

काठमाडौं, असोज १४ : दशैँ मान्नका लागि चार दिन (असोज ९ देखि १२ गतेसम्म) मा दुई लाख ५९ हजार १४७ जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । शानिबार काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख किशोर तमाङ्गले बताउनुभयो ।

उहाँका अनुसार दशैँ बिदाको पहिलो दिन शनिबार भएकाले उपत्यका बाहिरिने यात्रुको सङ्ख्या बढ्ने छ । ‘दशैँको पाँचौँ दिन आज दशैँ मान्न आ–आफ्नो घर जाने अर्थात् उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेको छ,’ उहाँले भन्नुभयो, ‘दशैँ बिदाको पहिलो दिन भोलि (शनिबार) भएकाले यात्रुको चाप झन् बढ्ने अनुमान छ ।’ असोज ९ गतेदेखि उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेको उहाँको भनाइ छ ।

त्यसका लागि ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने बसका लागि मात्र विशेष ट्राफिक सहायता कक्ष स्थापना गरेको छ । जसमा प्रत्येक सहायता कक्षमा दुई जना ट्राफिक प्रहरी खटिएका छन् । प्रमुख तमाङ्गले भन्नुभयो, ‘कोटेश्वर ट्राफिक सहायता कक्षमा यात्रु सहजताका लागि मात्र दुई जना ट्राफिक प्रहरी खटिनु भएको छ । कक्षमा सबैले देख्नेगरी कुन ठाउँमा जाने त्यहाँसम्मको गाडीभाडा टाँसिएको छ । त्यो हेरेर मात्र टिकट काट्न जाँदा यात्रुलाई सहज भएको छ ।’

सादा पोसाकमा ट्राफिक प्रहरी

ट्राफिक प्रहरी २४ सैँ घण्टा अलर्ट अवस्था छ । टिकट काट्न जाँदा यात्रु ठगिनबाट जोगाउन र बिचौलियाको फन्दामा पर्नबाट बचाउन सादा पोसाकको ट्राफिक प्रहरी खटेको छ । उहाँका अनुसार बुधबार र बिहीबार केही बस काउन्टरका कर्मचारीले बदमासी गरेकाले १६ जनालाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो । आज (शुक्रबार) त्यस्तो घटना दोहोरिएको छैन । ‘दुई दिन गरेको कारबाहीले होला घटना दोहोरिएको देखिएन । बिहान ४ बजेदेखि सादा पोसाकको आठ जना प्रहरीले गरेको निगरानीमा त्यस्तो दृश्य कोटेश्वरमा फेला परेन’ उहाँले भन्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चार दिनमा काठमाडौं भित्रिने सवारी साधनको सङ्ख्या ३३ हजार ७७७ र बाहिरिने सवारी साधन ३७ हजार ३६५ रहेको छ । ती सवारी साधनमा बाहिरिने यात्रुको सङ्ख्या दुई लाख ५९ हजार १४७ र भित्रिने यात्रुको सङ्ख्या एक लाख ८५ हजार ५३६ जना रहेको छ ।

उपत्यका ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार बाहिरिने यात्रुको सङ्ख्या निकै बढेको छ । उहाँले भन्नुभयो, ‘शनिबार बिदा सुरु भएपछि यो संख्या अझै बढ्ने छ । यात्रुको सहजताका लागि ट्राफिक व्यवस्थापन चुस्त छ । बाहिरिने यात्रुको सहज व्यवस्थापनका लागि रातदिन ट्राफिक प्रहरी खटेको छ ।’ कुनै असहजता वा सहयताका लागि ट्राफिक प्रहरीको टोल फ्रि नम्बर १०३ वा नजिकैको प्रहरी कार्यालय १०० मा तुरुन्त सम्पर्क गर्न सकिने पनि उहाँको भनाइ छ ।

भाडा बढी लिएको गुनासो

ट्राफिक प्रहरीले कोटेश्वरमा भाडा बढी लिएको गुनासो आएपछि १६ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ । गुनासो सुनेर त्यसको समाधान गर्दैआएको ट्राफिक प्रहरीले बस सञ्चालक समितिका सम्पर्क व्यक्ति, ती बसका मानिस र गुनासो कर्तालाई सँगै राखेर समस्याको समाधन गर्ने गरेको छ । कोटेश्वरमा टिकट काट्नेहरू बिचौलियाको रूपमा नदेखिएको प्रमुख तमाङ्गले बताउनुभयो ।

उहाँका अनुसार टिकट काट्ने नै बिचौलियाको रूपमा देखिएका छैनन् । साधारण गाडीको भाडा सहायता कक्षमा जानकारीका लागि टाँसिएको छ । त्यो हेरेर टिकट काट्न जानेलाई काउन्टरवालाले बुझाउन नसक्दा गुनासो आउनेगरेको हो । उहाँले भन्नुभयो, ‘साधारण गाडीको भाडामा डिलक्स गाडीले २० प्रतिशत र सुपर डिलक्सले ४० प्रतिशत भाडा थपेर टिकट काट्दा बढी परेको हो ।’

रिजर्भ जाने यात्रु 

गाडी रिजर्भ गरेर जाने यात्रुको सङ्ख्या पनि उल्लेख्य मात्रमा रहेको छ । यसरी घर जाने यात्रुलाई प्रहरीले दिने सुरक्षा उस्तै रहेको प्रमुख तमाङ्गले बताउनुभयो । ‘साथीभाइ, परिवार मिलेर गाडी रिजर्भ गरी घर जाने यात्रुको सङ्ख्या पनि उस्तै छ,’ उहाँले भन्नुभयो, ‘गाडीको अग्रिम टिकट बिक्री खुल्ला हुन्छ । समयमा लिन नसक्दा पछि टिकट नपाउने हो कि वा आफ्नो सुविधाका लागि मानिसहरु गाडी रिजर्भ गरेर यात्रा गर्छन् ।’

प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा दिइरहेको छ । सहायता कक्षबाट माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने, कोभिड–१९ का कारण हुन सक्ने जोखिमको लागि सचेत गराउने र चाडपर्वका बेला चोरी तथा आपराधिक घटना हुन सक्ने भएकाले निगरानीका लागि प्रहरीले विशेष सुरक्षा योजनासमेत लागू गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया