धानखेतीसँगै माछापालन

  असोज १२, २०७९

भरतपुर, असोज १२ : चितवनका एक युवा किसानले खेतमा धानसँगै माछापालन पनि सुरु गर्नुभएको छ । भरतपुर महानगरपालिका–२५ फुलबारीका युवा रोमिनजङ्ग थापाले धान खेती गरिएकै ठाउँमा माछापालन सुरु गर्नुभएको हो ।

उहाँले माछा पाल्न पोखरी नै निर्माण गर्नुपर्छ भन्ने धारणा तथा सोचलाई परिवर्तन गरिदिनुभएको छ । २३ वर्षीय थापाले गत वर्ष पनि परीक्षणका रुपमा धान खेतमा माछापालन गर्नुभएको थियो । माछासँगै धानको पनि उत्पादन राम्रो हुने देखेपछि उहाँले यस वर्ष पनि आफ्नो खेतमा आठ सयवटा माछाको भुरा हाल्नुभएको छ ।   “साउन मा रामपुरबाट ल्याएर धान खेतमा माछा हालेको हुँ”, उहाँले भन्नुभयो, “गाउँमा अरूले पनि यसरी माछापालन गर्न थालेका छन् ।”

सुरुमै २० किलो पिना र पाँच किलो ढुटो ल्याएको भन्दै उहाँले दैनिक आधा किलो पिना र एक पाउ ढुटो मिसाएर खेतमा हालिदिने गरेको बताउनुभयो । उहाँले खेतमा कमन कार्भ, रहु र ग्रास कार्भ जातको माछा हाल्नुभएको छ । कात्तिकसम्म माछा खानका लागि तयार हुने उहाँ बताउनुहुन्छ । धान खेती गरिएको ठाउँमा माछापालन पनि गर्दा माछाको उत्पादन राम्रो हुने र धान उत्पादन पनि बढ्ने उहाँले बताउनुभयो । “सिजनल रुपमा धान खेतीको समयमा मात्रै माछा हाल्ने गरेको छु । खेतमा रासायनिक मल हालिँदैन । पिनालगायतका कारण खेतमा मलिलो हुने गरेको छ । धान पनि अर्गानिक उत्पादन हुन्छ”, उहाँले भन्नुभयो ।

धानमा उहाँले कुलोको पानी लगाउने गर्नुभएको छ । खेतमा धान रोपेको एक हप्तापछि थापाले २० देखि २५ ग्रामका भुरा माछा हाल्नुभएको हो । उहाँले प्रतिगोटा दुई रुपैयाँमा आठ सय भुरा माछा किन्नुभएको थियो । भुरा माछा हालेको तीन महिनामा एउटा माछा डेढ पाउको हुने र प्रतिकेजी तीन हजार ५० रुपैयाँमा बिक्री हुने थापाले बताउनुहुन्छ । नगरमा पानी सुक्ने भएका कारण तीन महिनामै बेच्नु परेको उहाँले सुनाउनुभयो । धानको उत्पादन बढेपछि दोहोरो आम्दानी हुँदा उहाँ दङ्ग हुनुहुन्छ । साढे तीन कट्ठा जग्गामा धान लगाउँदा पानी जमेर सोचेको जस्तो धान नफलेको र धानको बिरुवामा रोग किरा लागेर सताएको उहाँले स्मरण गर्नुभयो ।

धानमा हरेक वर्षजसो समस्याले सताउन थालेपछि धान खेतमै एकपटक माछा पालन गरेर विचार गर्ने सोच पलाएको उहाँले बताउनुभयो । सुरुमा तीन सय वटा माछाको भुरा हाल्दा राम्रो उत्पादन भएपछि हरेक वर्ष धान लगाएको ठाउँमा माछापालन गर्ने सोच पलाएको उहाँले बताउनुभयो ।

“धान खेतीमा माछापालन गर्दा धानमा आएको लेउ झार तथा किरा माछाले आहारका रुपमा खान्छन् र धानमा लाग्ने विभिन्न रोगहरु पनि देखा पर्दैनन”, उहाँले भन्नुभयो । एउटै ठाउँमा धान र माछाबाट आम्दानी भएपछि आफूलाई धेरै सन्तुष्ट मिलेको उहाँको भनाइ छ । उहाँ हाल सप्तगण्डकी क्याम्पस भरतपुरमा आमसञ्चार तथा पत्रकारिता विषयमा दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । योसँगै उहाँ निर्माण सामग्री व्यवसायमा पनि संलग्न हुनुहुन्छ । देशमा केही गर्न सकिँदैन र कुनै अवसर पनि छैन भन्दै विदेश पलायन भइरहेका युवाहरुका लागि थापाको यो काम एक उदाहरणीय बनेको छ ।

तपाईको प्रतिक्रिया