युक्रेनलाई सहयोगबारे छलफल

  असोज १२, २०७९

किभ, असोज १२ : युक्रेनमा आवश्यक सहयोग बारे युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । हाल युक्रेनको भ्रमणमा रहनुभएका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।

युक्रेनमा केही महिना अघि रुसले गरेको आक्रमणपछि यहाँको आर्थिक लगायतको अवस्था कमजोर हुदै गएको छ । हाल पश्चिमा देशहरुले युक्रेनको आर्थिक तथा समाजिक क्षेत्रमा सहयोग गरिरहेका छन् । बेलायत र अमेरिकाले युक्रेनलाई आवश्यक पर्ने हात हतियचर समेत उपलब्ध गराइरहेका छन् ।

युक्रेन युरोपियन युनियनको सदस्य बन्ने तयारीमा रहेकाले यसका लागि आवश्यक सहयोग गर्न पनि उहाँले फ्रान्सेली विदेशमन्त्रीसँग आग्रह गर्नुभयो । सो भेटका क्रममा फ्रान्ससँग युक्रेनी राष्ट्रपतिले प्रतिरक्षाका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि आग्रह गर्नुभएको युक्रेनी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिमा राष्ट्रपति जेलिन्स्किीले युक्रेनको पछिल्लो अवस्थाको बारेमा फ्रान्सलाई जानकारी गराउनुभएको र उहाँहरुका बीचमा युक्रेनका लागि हाल गर्न सकिने सहयोगका बारेमा कुराकानी भएको जनाइएको छ ।

युक्रेनमा रुसको आक्रमणका विरुद्धमा फ्रान्सले पनि युक्रेनलाई विगतदेखि सहयोग गर्दै आएको छ । गएको फेब्रुअरी महिनामा रुसले युक्रेनमाथि हमला गरेको थियो । सो हमलाबाट युक्रेनमा मानवीय र आर्थिक क्षति पुगेको छ । रुसले युक्रेनमाथि गरेको सो हमलापछि फ्रान्सेली विदेशमन्त्री कोलोनाले गर्नुभएको युक्रेनके यो दोस्रो पटकको भ्रमण हो ।

तपाईको प्रतिक्रिया