अन्तर्राष्ट्रिय बालकला प्रदर्शनी सुरु

  असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : काठमाडौँको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय बाल कला प्रदर्शनी सुरु भएको छ । बङ्गलादेशको आर्टशाला कला केन्द्र र नेपालको जिपी कोइराला फाउन्डेसन आर्ट एण्ड कल्चर विभागको आयोजनामा शनिबारदेखि पाँच दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा बङ्गलादेशका ५५ बाल कलाकार तथा नेपालका पाँच कलाकारले कोरेका कला राखिएका छन् । प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश खनालले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको उल्लेख गर्दै यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियस्तरमा नेपाली बाल कलालाई जोडेको बताउनुभयो ।

उहाँले नेपाली कलाकारबाट कोरिएका कला बिक्रीवितरण नहुँदा कलाकारको मेहनत खेर गएको उल्लेख गर्नुभयो । नेपालमा निर्माण भएका सरकारी तथा निजी भवनमा नेपाली कलालाई प्रयोग गरेमात्र कलाकारको मेहनतको कदर हुने उहाँको भनाइ थियो ।

हो वीगञ्ज चारुखोला एकेडेमीका निर्देशक एवं आर्टशालाका सञ्चालक आशिष अचार्जीले आर्टशालाले पहिलो पटक नेपालमा आएर अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शन गरेको जानकारी दिनुभयो । उहाँले कला प्रदर्शनीले नेपाल र बङ्गलादेशको सम्बन्ध झन मजबुद बनाएको बताउनुभयो ।

जिपी कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागका प्रमुख श्यामसुन्दर यादवले फाउन्डेसनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताउनुभयो । विगत १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया