कथा कृति ‘जियरा’लाई ५० हजारको कृति पुरस्कार

  असोज ०८, २०७९

कर्णाली, असोज ८ : आख्यानकार नयनराज पाण्डेद्वारा लिखित कथा कृति ‘जियरा’लाई रु ५० हजारको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार, २०७७’ प्रदान गरिएको छ । कर्णाली साहित्य समाज सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजित सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममार्फत उक्त कृतिलाई रु ५० हजार ‘कृति पुरस्कार’ प्रदान गरेको हो ।

आख्यानको नवीनतम् विषयवस्तु, शिल्प र शैलीको प्रयोगद्वारा तराई र मधेसका समाजमा विद्यमान कुप्रथा, रुढीवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै कथा कृति ‘जियरा’ले आम नागरिकका दुःख, पीडा र भोगाइहरू उद्घाटन सफल भएकाले पुरस्कृत गरिएको समाजका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै साहित्य समाजद्वारा कर्णालीको लोक नृत्यलाई रङ्गमञ्चका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन योगदान दिएको भन्दै वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई रु २५ हजार राशिको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार, २०७७’ प्रदान गरिएको छ ।

त्यसैगरी इतिहासकार प्रा डा राजाराम सुवेदीलाई ‘कर्णाली साहित्य समाज साधना सम्मान, २०७७’ बाट समाजले सम्मान गरेको छ । मध्यकालीन डोटी राज्य, २०५६, अछामको इतिहास, २०५६ जस्ता ऐतिहासिक महत्वका बहुमूल्य कृतिको सृजनाद्वारा कर्णाली प्रदेशको अभिलेखन गरी नेपालको इतिहासलाई समृद्ध बनाउन योगदान गरेको भन्दै समाजले प्रा डा सुवेदीलाई सम्मान गरेको हो ।

उक्त सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा बोल्दै प्रा डा सुवेदीले मुलुकभरि घुमे पनि सबै थोक कर्णालीमा पाइने गरेको बताउनुभयो । इतिहास र भूगोलबीचको अकाट्य सम्बन्ध भएको बताउँदै उहाँले इतिहासलाई चट्टानको उपमा दिँदै यसले समाजलाई दिनैपरे सिलाजित उपलब्ध गराउने तर्क गर्नुभयो ।

आख्यानकार पाण्डेले काठमाडौँले मधेसलाई हेर्ने दृष्टिकोण कमजोर भएको जिकिर गर्नुभयो । विविधताले भरिएको नेपाली समाजमा वैभव र भाषाको सुन्दरता भएको जनाउँदै उहाँले लेखक आफँैले बोलेर बढाइचढाइ गर्नेभन्दा कृति आफैँले बोल्ने बताउनुभयो ।

वरिष्ठ नृत्य निर्देशक नेपालीले भन्ने राष्ट्रले दिन नसकेको सम्मान कर्णाली साहित्य समाजले प्रदान गरेर साङ्गीतिक जीवनलाई थप ऊर्जाशील बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा प्रतिभवान स्रष्टा लुकेर बसेका छन् । यसलाई खोज्ने काम साहित्य समाजले गरेको छ ।” निष्पक्षतालाई मूलमन्त्र बनाएर सम्मान गरेको भन्दै उहाँले समाजप्रति आभार प्रकट गर्नुभयो ।

समाजका संस्थापक तथा संरक्षक महेशविक्रम शाहले कर्णालीको इतिहास, कला, साहित्यको उत्खनन गर्न बाँकी रहेको जनाउँदै पुरस्कृत एवं सम्मानित व्यक्तित्वहरूलाई यहाँको कथा, इतिहास र संस्कृतिका क्षेत्रमा दरिलो कलम चलाउन आग्रह गर्नुभयो । उहाँले साहित्यले समाजलाई जोड्दै गर्दा राजनीतिले तोड्ने काम गरेको टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया