कवि कैलाशकुमार पाण्डेयको ‘आकाश छुने रहर’ बजारमा

  असोज ०८, २०७९

काठमाडौं, असोज ८ : कवि कैलाशकुमार पाण्डेयको नवीनतम कविताकृति ‘आकाश छुने रहर’ बजारमा आएको छ । गीत, गजल र कवितामा यसअघि नै चार कृति प्रकाशित गरिसकेका पाण्डेयको आकाश छुने रहर पाँचौँ कृति हो ।

कवि राजेन्द्र तारकिणीले ‘आकाश छुने रहर’ कविता सङ्ग्रहभित्र राष्ट्रियताको भावना, निम्नवर्गीय एवम् हेलितपेलित तप्काका मानिसप्रति सहानुभूति, नारीमाथि हुने हिंसाको विरोध, आफ्नोपन र पुर्खाको देनप्रति गौरव, ग्रमीण तथा सहरी समाजको विषम चित्रलगायत विविध भाव र स्वादका कविता रहेको बताउनुभयो ।

कवि स्वयम् पाण्डेयले लेखन सिद्धान्त, व्यवहार, प्रयोग, वादभन्दा पर केही छ भने त्यसमा टेकेर लेख्ने सोच पलाएर मात्र कविता लेखेको बताए । ‘‘त्यसका पछाडि आकाश छुने रहर नै महत्त्वपूर्ण रूपमा देखियो । सपनाको ओइरो लाग्छ, परिकल्पनाको पहाड बन्छ । आखिर सपना सबै सपना नै हुन्, कल्पना गर्न त कसले रोक्न सक्छ र ? रहर गरेर मात्र पनि कहाँ हुन्छ  र ?,’’ उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘जीवनमा आफूले गरेको परिश्रमले दिने फल मात्रै आफ्नो हुन्छ, अरू सबै कल्पना मात्र हुन् । तर पनि इच्छा, चाहना, आकाङ्क्षा, रहर आआफ्नै हुन्छन् । यथार्थमा रहर गर्न नसके पनि कवितामा आकाश छुने रहर गरेँ । जीवनका भोगाइ, सामाजिक अवस्थिति, समसामयिक मुद्दाहरू, नितान्त निजी भावनाहरू यी कवितामा पस्केको छु ।’’

पाण्डेयका कवितामा सुन्दर समाजको परिकल्पना, मानवीय मूल्य–मान्यता ह्रास हुँदै गइरहेको र सांस्कृतिक विचलनप्रति चिन्ता, विकृति–विसङ्गतिप्रति शालीन विद्रोह सामाजिक अवस्थिति, राजनीतिक व्यंग्यचेत, जीवन–जगत्का भोगाइ एवम् अनुभूतिहरू सरल र मीठो शैलीमा प्रस्तुत गरिएको सम्पादन हाउसका दीपक नेपालले बताउनुभयो । सम्पादन हाउस प्रालिले बजारमा ल्याएको उक्त सङ्ग्रहभित्र ५२ वटा कविता समाविष्ट छन् । कृतिको मूल्य रु २५० राखिएको छ ।

तपाईको प्रतिक्रिया