विकाससँगै नागरिकको जीवनमा परिवर्तन आवश्यक छ : झाँक्री

  असोज ०७, २०७९

तम्घास, असोज ७ : नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले विकाससँगै नागरिकको जीवनमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभएको छ ।

गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ४ मा सुविधा सम्पन्न सभाहलको शुक्रबार शिलान्यास गर्दै झाँक्रीले विकास निर्माणका कार्यक्रमले नागरिकको जीवनशैलीमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभएको हो। यस स्थानमा बन्ने सभाहलले जिल्लाको गरिमा थप उचाइमा पुग्ने भन्दै सभा सम्मेलनहरू र सांस्कृतिक कार्यक्रमहरु गर्नका लागि अब घाम र पानीको समस्याबाट मुक्त हुने उहाँको दाबी छ।

अर्को एक फरक प्रसंगमा झाँक्रीले गफ भन्दा पनि कामलाई आफूले प्राथमिकता दिनेमा जोड दिनुभयो। उहाँले गफ गर्नेलाई भन्दा काम गर्नेलाई मतदान गर्नसमेत आह्वान गर्नुभएको छ। यस्तै पछिल्लो समयमा निर्माण व्यवसायीले निर्माणको जिम्मा लिने तर समयमै काम नगर्ने प्रचलन हाबी भएको भन्दै यसको अन्त्य गर्नका लागि लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

जिल्लामा निर्माणको जिम्मा लिने तर काम नगर्ने निर्माण व्यवसायीलाई प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासनमा बोलाएर ताकेता गर्न उहाँले निर्देशन समेत दिनुभयो। जिल्लामा भइरहेका विकास निर्माणका कार्यका लागि निरन्तर रुपमा जिल्लाकै राजनीतिक दल, प्रशासन, सरोकारवालाको ध्यान जानु जरुरी रहेको उहाँको भनाइ छ।

रेसुंगा ४ अर्खलेमा बन्ने सभाहल २० करोड ४२ लाख ९७ हजार १९६ रुपियाँ सात पैसामा निर्माण हुने सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय कार्यान्वयन इकाई रुपन्देहीले  जनाएको छ। गत जेठमा टेन्डर प्रक्रियामार्फत तीन निर्माण व्यवसायीहरू प्रारम्भिक चरणमा छनोट भएको कार्यालयले जनाएको छ।

आर्थिक प्रस्ताव खोल्न बाँकी रहेकाले एक हप्तामा सो कार्य पनि सम्पन्न गर्ने भन्दै असोज मसान्त भित्रमा निर्माण व्यवसायीसँग सम्झौता गर्ने योजना रहेको कार्यालयका प्रशासन प्रमुख नवीन पन्थीले जानकारी दिनुभयो। सम्झौता भएको दुई वर्ष भित्रमा निर्माण व्यवसायीले कार्य सम्पन्न गर्नुपर्ने पन्थीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया