जनावरको आक्रमणबाट दुईजनाको मृत्यु

  साउन २९, २०७९

सुर्खेत, साउन २९ : सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरवानीमा जंगली जनावरको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका राम बहादुर चन्द र कबि वलीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो ।

उहाँहरुको शव घरदेखि करिव ५ सय मिटरको दुरीमा फेला परेको प्रहरीले जनाएको छ । विहान करिब ८ बजे घाँस काट्न निस्किेका दुवैजना अबेरसम्म नफर्केपछि आफन्तले अस्थायी प्रहरी चौकी बबईमा खबर गर्नुभएको थियो ।

आफन्तको खबरपछि नेपाल प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बबईमा खटिएको देबदत्त गण र स्थानियवासीको संयुयक्त टोलीले दुबैजनालाई जंगली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृतक रामबहादुर चन्दको पेट र कबि वलीको घाँटीको भागको मासु खाएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय छिन्चु प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

उहाँहरुलाई कुन जनावरले आक्रमण गरेको हो भन्ने विषय अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया