नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शाहीद्वारा शपथ ग्रहण

  साउन २९, २०७९

वीरेन्द्रनगर, साउन २९ : कर्णाली सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उहाँलाई शपथ गराउनुभयो ।

शाही डोल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद हुनुहुन्छ । शाहीलाई गत बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री नियुक्त गर्नुभएको थियो । यसअघि विसं २०७८ माघ २३ गते उद्योगमन्त्री बनेका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि सकिएपछि लामाको ठाउँमा शाहीलाई नियुक्त गरिएको हो ।

उहाँलाई शुक्रबार नै शपथ गराउने कार्यक्रम भए पनि उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा संविधानको मर्मअनुसार समावेशिता कायम नभएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएपछि शपथको तालिका रोकिएको थियो ।

गत माघमा बनेको मुख्यमन्त्री शाही नेतृत्वको सरकार समावेशी सिद्धान्तविपरीत भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको थियो ।

तपाईको प्रतिक्रिया