लुक्दालुक्दै प्रसिद्धि कमाएका लेखक सलमान रुस्दीको नाटकीय जीवन

  साउन २८, २०७९

काठमाडौं, साउन २८ : न्यूयोर्कमा एउटा मञ्चमा आसीन भएका बखत छुरी प्रहार गरेर गम्भीर अवस्थामा पुगेका सर सलमान रुस्दीले आफ्नो पाँच दशक लामो साहित्यिक कामका कारण कैयौँ ज्यान मार्ने धम्की पाउने गरेका थिए ।

यी ब्रिटिश साहित्यकारका धेरै पुस्तकहरू सफल थिए। उनको दोस्रो पुस्तक ‘मिडनाइट्स चिल्ड्रेन’का लागि उनले सन् १९८१ मा द बुकर पुरस्कार पाएका थिए ।

उनको सन् १९८८ मा प्रकाशित चौथो उपन्यास ‘द सेटनिक भर्सेस’ उनको सबभन्दा विवादास्पद कृति बन्न पुग्यो जसले अन्तर्राष्ट्रिय रूपमा विवाद र आक्रोश पैदा हुन पुग्यो ।

रुस्दीमाथि ज्यान मार्ने धम्कीका कारण उनी लुकेर बस्न बाध्य भए र ब्रिटिश सरकारले उनलाई प्रहरी सुरक्षा घेराभित्र राख्न थाल्यो। पुस्तकमाथिको विवाद बढ्दै जाँदा यूके र इरानबीचको कूटनीतिक सम्बन्ध टुट्यो ।

तर सधैँभरि पश्चिमा विश्वका लेखकहरू र बौद्धिक वर्गले पुस्तकमाथि मुस्लिम प्रतिक्रिया र अभिव्यक्ति स्वतन्त्रता माथिको खतराको विरोध गरिरहे ।

इरानका सर्वोच्च नेता आयातोल्लाह रुहाल्लाह खामेनेईले पुस्तक प्रकाशन भएको दोस्रो वर्ष सन् १९८९ मा रुस्दीको हत्या गर्न फतवा जारी गरेका थिए ।

सुरुवाती जीवन
सलमान रुस्दी भारत ब्रिटेनबाट स्वतन्त्र हुनु दुई महिना अघि बम्बेमा जन्मिएका थिए । १४ वर्षको उमेरमा उनलाई इङ्गल्यान्डमा स्कुल पढ्न पठाइएको थियो ।

पछि उनले ब्रिटेनको प्रतिष्ठित किङ्ग्स कलेज इन केम्ब्रिजबाट इतिहासमा अनर्स डिग्री लिएका थिए । उनी ब्रिटिश नागरिक बने र आफ्नो मुस्लिम धर्मका संस्कारहरू छोड्दै गए ।

उनले छोटो समयका लागि नायकका रूपमा काम गरे । त्यसपछि उपन्यास लेख्दै विज्ञापन सम्बन्धी काम गरे ।

पुस्तकसँगै चर्चा
उनको पहिलो प्रकाशित पुस्तक ‘ग्रिमस’ त्यति सफल भएन तर केही आलोचकहरूले त्यस बेलै उनलाई सम्भावना बोकेका लेखका रूपमा देखे ।

रुस्दीले उनको दोस्रो पुस्तक ‘मिडनाइट्स चिल्ड्रेन’ लेख्न पाँच वर्ष लगाए जुन पुस्तकले सन् १९८१ को बुकर प्राइज जित्यो । यो त्यसबेला निकै मनपराइयो र ५ लाख प्रति पुस्तक विक्री भयो ।

द सेटनिक भर्सेस : जीवन खतरामा पार्ने पुस्तक
उनको जीवन नै खतरामा पार्ने उनको काम अर्थात् द सेटनिक भर्सेस सेप्टेम्बर १९८८ मा छापिएको थियो । यो पुस्तकप्रति खासगरी मुस्लिमहरूको आपत्ति रह्यो जसले यो पुस्तकको विषयवस्तुलाई धर्म विरोधी माने ।

पुस्तक प्रतिबन्ध लगाउने पहिलो मुलुक भारत बन्न पुग्यो । त्यसपछि पाकिस्तान र अन्य मुस्लिम देशहरू तथा दक्षिण अफ्रिकाले प्रतिबन्ध लगाए ।

यो उपन्यासको विभिन्न क्षेत्रमा प्रशंसा भयो र ह्विटब्रेड पुरस्कार प्राप्त गर्‍यो । तर पुस्तकप्रति आक्रोश बढ्दै गएपछि सडक प्रदर्शनहरू पनि हुन थाले । केही मुस्लिमहरूले त्यसलाई इस्लामको अपमानका रूपमा लिए ।

द सेटनिक भर्सेसमा के छ ?
उनीहरूले असहमति जनाएका कैयौँ कुराहरूमध्ये पुस्तकमा रहेका दुईजना यौनकर्मीहरूलाई पैगम्बर मोहम्मदको दुईजना श्रीमतीहरूको नाम दिइनु रहेको छ ।

पुस्तकको नाम मोहम्मदले कुरानमा राक्षसबाट प्रभावित भएको ठानेर हटाएका दुई सन्दर्भ (भर्सेस)सँग जोडिएको छ ।

सन् १९८९ को ज्यानुअरीमा ब्राडफर्डमा मुस्लिमहरूले पुस्तकको एउटा प्रति जलाएका थिए। जसपछि न्यूजएजेन्ट्स डब्ल्यूएचस्मिथले उक्त पुस्तक त्यहाँ प्रदर्शनमा राख्न छाड्यो ।

रुस्दीले ईशनिन्दाका अभियोगहरूलाई अस्वीकार गरेका छन् । फेब्रुअरीमा उपमहाद्वीपभर भएका रुस्दीविरोधी दङ्गामा मानिसहरूको मृत्यु भयो ।

तेहरानस्थित ब्रिटिश राजदूतावासमा ढुङ्गा प्रहार गरियो र लेखकको टाउकोको मूल्य ३० लाख अमेरिकी डलर तोकियो । त्यसैबीच यूकेमा केही मुस्लिम नेताहरूले त्यसलाई परिमार्जन गर्न आग्रह गरे भने अन्यले आयतोल्लाहलाई समर्थन गरे । अमेरिका, फ्रान्स र अन्य पश्चिमा देशहरूले उनलाई दिइएको मृत्युको धम्कीको निन्दा गरे ।

आफ्नी श्रीमतीसाथ लुकेर बसेका रुस्दीले त्यसबेलासम्म मुस्लिमहरूलाई पुर्‍याएको चोटका लागि भन्दै गहिरो क्षमायाचना गरे । तर आयतोल्लाहले लेखकको हत्याको आह्वानलाई जारी राखे ।

घातक शृङ्खला
प्रकाशक भाइकिङ पेङ्गविनको लन्डनस्थित कार्यालयहरूमा धर्ना दिइयो र न्यूयोर्क कार्यालयमा हत्याको धम्की पठाइयो । तर आन्ध्र महासागरको दुवैतर्फ उक्त पुस्तक बेस्टसेलर बन्न पुग्यो

अतिवादी मुस्लिमको प्रतिक्रियाविरुद्ध भएका प्रदर्शनलाई युरोपेली आर्थिक समुदाय (ईईसी) देशहरूले समर्थन गरे, र ती सबैले अस्थायी रूपमा तेहरानबाट राजदूतहरू फिर्ता बोलाए ।

तर यी लेखक किताबको विषय बस्तुलाई लिएर मात्र धम्की खेपेका लेखक होइनन् । द सेटनिक भर्सेसका जापानी अनुवादक युनिभर्सिटी नर्थ इस्ट अफ टोकियोमा सन् १९९१ को जुलाईमा मृत फेला परे ।

प्रहरीका अनुसार तुलनात्मक संस्कृतिका एकजना सहायक प्राध्यापकका रूपमा काम गर्ने अनुवादक हितोसी इगारसीलाई कैयौँ पटक छुरा प्रहार गरेर टिसुकाबा युनिभर्सिटीको बाहिरपट्टि छाडिएको थियो ।

त्यस महिनाको सुरुमा इटलीका अनुवादक इटोरे क्रपिओलोलाई समेत मिलानस्थित आफ्नै अपार्टमेन्टमा छुरा प्रहार गरिएको थियो तर उनी बाँच्न सफल भए ।

पछिल्लो समय
रुस्दी विरुद्धको मृत्युदण्ड आदेशलाई सन् १९९८ मा इरानको सरकारले औपचारिक रूपमा अगाडि बढाउन छोड्यो। तर औपचारिक रूपमा फतवा फिर्ता भने अहिलेसम्म पनि गरिएको छैन ।

रुस्दीका पछिल्ला पुस्तकमा बाल उपन्यास पनि छन्: हरुन एन्ड द सी अफ स्टोरीज (१९९०), निबन्धहरू, द मूअर्स लास्ट साइ (१९९५), द ग्राउन्ड बिनिथ हर फिट (१९९९) र फ्यूरी (२००१) ।

उनी ‘मिडनाइट्स चिल्ड्रेन’को रङ्गमञ्चीय प्रस्तुति (प्रिमिअर लन्डन २००३) मा आफै संलग्न थिए ।

पछिल्ला दुई दशकमा उनले शालिमार द क्लाउन, द इन्च्यान्ट्रेस अफ फ्लोरेन्स, टु इअर्स एट मन्थ्स एन्ड ट्वेन्टी एट नाइट्स, द गोल्डेन हाउस र किचोट प्रकाशन गरेका थिए ।

उनको चार पटक बिहे भएको थियो । उनका दुई सन्तान छन् । उनी अहिले अमेरिकामा बस्छन् र साहित्य सेवाका लागि ब्रिटिश महारानीबाट दिइने उच्चतम नाइट उपाधिप्राप्त छ ।

सन् २०१२ मा उनले द सेटनिक भर्सेसको विवादका सन्दर्भ सहित आफ्नो जीवनको संस्मरण प्रकाशित गरेका थिए ।

तपाईको प्रतिक्रिया