साहित्य, सङ्गीत र कलाबिना मुलुक पूर्ण हुन सक्दैन : प्रधानमन्त्री

  साउन २८, २०७९

काठमाडौँ, साउन २८ : प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, सङ्गीत, कला मुलुकको अमूल्य गहना भएको बताउनुभएको छ ।

पूर्वराजदूत प्रतिभा राणाको नेपाली कविता सङ्ग्रह ‘गहिराइ’ र अङ्ग्रेजी कृति ‘कर्टेन अफ माया’ को विमोचन समरोहमा प्रधानमन्त्री देउवाले साहित्य, सङ्गीत र कलाबिना समाज र देश पूर्ण हुन नसक्ने बताउनुभयो ।

त्यसैले ती क्षेत्रको विकासका लागि विभिन्न प्रतिष्ठान स्थापना गरी सरकारले विभिन्न कामहरु अघि बढाएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले नेपाली भाषा, साहित्य, वाङ्मय हिजोको तुलनामा समृद्ध हुँदै गएको स्मरण गर्नुभयो ।

“कथा, कविता, उपन्यास, नियात्रा, समालोचनालगायत सबै विधामा नेपाली भाषाका उत्कृष्ट सिर्जना हुन थालको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपाली साहित्यलाई थप परिस्कृत र परिमार्जित गर्दै विश्व साहित्यसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउनु आवश्यक छ ।”

उहाँले नेपाली साहित्यको विकासमा लाग्न साहित्यकारलाई आग्रह पनि गर्नुभयो । त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास पनि दिलाउनुभयो ।

असल साहित्यले मानिसलाई भित्रबाटै अभिप्रेरित गर्ने, मानिसको सोचाइलाई फराकिलो र जीवनलाई अर्थपूर्ण बनाउन सहयोग पु¥याउने उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकमा पुरुष साहित्यकारको वर्चस्व रहेको सन्दर्भमा महिला साहित्यकारको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गनुृभयो । उहाँले नेपाली साहित्यले गहिराइ समेट्न थालेकोमा प्रशंसा पनि गर्नुभयो ।

उहाँले राजनीतिक र सामाजिक व्यक्तित्वका रूपमा परिचित लेखक प्रतिभा राणा कुशल साहित्यकार रहेको कुरा आज मात्रै जानकारी प्राप्त भएको बताउनुभयो ।

समारोहमा समालोचक प्रा डा ज्ञानु पाण्डे र समालोचक राम लोहनीले कृतिको बारेमा टिप्पणी गर्नुभएको थियो । साहित्यकार पाण्डेले काव्य संवेदनशील भएको भन्दै राणाले साहित्य लेखन किन ढिलाइ गर्नुभएको भनी प्रश्न गर्नुभयो ।

लेखक राणाले यी दुई कृति आफूले २१ वर्षको उमेरदेखि लेखेको कविताको सङ्गालो भएको बताउनुभयो । यस कृतिमा मानवीय जीवनका प्रेम, गाथा, प्राकृतिक सौन्दर्य, ईश्वरीय देनलगायतका विविध विषय समावेश भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया