कृषि इन्जिनियरिङको पढाइ सुरु

  साउन २८, २०७९

टीकापुर, साउन २८ : टीकापुर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा (एसईईपछि तीन वर्ष) तहमा कृषि इन्जिनियरिङको पढाइ सुरु भएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले कृषि कार्यका लागि अति आवश्यक कृषि यन्त्र, सिचाईँ, माटो र कृषि बालीको उत्पादनपछिको व्यवस्थापनका बारेमा एकीकृत पाठ्यक्रम तयार गरी यसै शैक्षिक सत्रदेखि टीकापुरबाट पढाइ सुरु गर्न थालेको हो ।

एसईईमा विज्ञान र गणित विषयमा कम्तीमा सी ग्रेड र अङ्ग्रेजीमा कम्तीमा डी प्लस ल्याएका ४८ जना विद्यार्थीहरुले कृषि इन्जिनियरिङ पढ्न पाउनेछन् ।

नेपाल सरकारले कृषि उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको र कैलालीमा रानी जमरा कुलरिया, बर्दियामा बबई, बाँकेमा सिक्टा र कञ्चनपुरमा महाकाली सिँचाइ आयोजना बनिरहेकाले यसलाई सञ्चालन गर्ने जनशक्ति उत्पादन गर्न कृषि इन्जिनियरिङको पढाइ आवश्यक भएको शिक्षालय प्रमुख इन्जिनियर पारस खड्का बताउनुहुन्छ ।

‘यहाँका किसानका हातमा अनुदानमा करोडौंका कृषि यन्त्र पुगेका छन तिनको मर्मत सम्भार सञ्चालन, सिँचाइ प्रणाली निरन्तर गर्न र यहाँको माटोलाई उर्वर बनाउन यहाँको जनशक्ति काम लाग्नेछ,’ शिक्षालय प्रमुख, ईन्जिनियर पारस खडका भन्नुहुन्छ, ‘कृषि इन्जिनियरिङको पढाइ तीन वर्ष पूरा हुँदासम्म शिक्षालयमा प्रशिक्षक पाँच जना कृषि इन्जिनियर, दुई सहायक हुनेछन र शिक्षालयभित्रै वर्कसप चल्नेछ विद्यार्थीले पनि सिक्दै, गर्दै कमाउन सक्नेछन् ।’ शिक्षालयको कृषि विभागका विद्यार्थीलाई सिक्न आवश्यक पर्ने करिब दुई करोडका कृषि यन्त्रहरु दातृ संस्थाको सहयोगमा उपलब्ध भैसकेका छन् । यसमा थे्रसर, हार्भेष्टर, लेबलर, राइस प्लान्टर जस्ता महँगा उपकरणहरु छन् ।

सीटीईभीटीको पाठ्यक्रम विकास महाशाखाका निर्देशक इन्जिनियर अनोज भट्टराई बजार अध्ययन गर्दा नेपाली बजारमा कृषि इन्जिनियरको असाध्यै माग भएकाले तुरुन्तै रोजगार पाउन सक्ने जनशक्ति उत्पादन गर्न कृषि इन्जिनियरिङ सुरु गरिएको बताउनुहुन्छ । सीटीइभीटीको पाठ्यक्रम बोर्डमा कृषि मन्त्रालय, भौतिक योजना मन्त्रालयको प्रतिनिधित्व भएकाले बोर्डकै सुझाव अनुसार पाठ्यक्रम बनेको उहाँको भनाइ छ । ‘टीकापुरमा यो विषय चलाउन शिक्षालयले तयार गर्नुपर्ने पूर्वाधार, उपकरण र वरिपरिको वातावरण उपयुक्त भएकाले सुरु गरिएको छ,’ भट्टराई भन्नुहुन्छ, ‘यसको माग धेरै भएकाले अन्य शिक्षालयमा पनि बिस्तार गर्नुपर्दछ ।’

नेपाल कृषि इन्जिनियर्स समाजका अध्यक्ष तथा हाल काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर बिम श्रेष्ठ नेपालको स्थापित संस्थाले शुरु गरेको कृषि इन्जिनियरिङ विषयमा तीन वर्षका तालिम लिएको जनशक्ति नेपालका हिमालदेखि तराईसम्म र विदेशमा समेत उच्च सीपयुक्त जनशक्तिका रुपमा काम गर्न सक्ने बताउनुहुन्छ ।

‘नेपालमा काम गर्नेहरु स्वरोजगार भएरै राम्रो कमाइ गर्न सक्छन भने विदेशमा जाने हो भने पनि यस्तो उच्च सीपयुक्त जनशक्ति छोटै समयमा धेरै कमाउन सक्ने र थप सीप सिकेर स्वदेश फर्किन सक्ने प्रचुर सभावना छ,’ प्राध्यापक डाक्टर श्रेष्ठ भन्नुहुन्छ, ‘उनीहरुलाई व्यवसायमा स्थापित हुने र उच्च शिक्षा लिने दुवै अवसर हुनेछ ।’

कृषि इन्जिनियरिङ पढेको जनशक्ति उत्पादन भई काममा खटिएमा कृषिमा काम गर्ने जनशक्ति घटाई अन्यत्र काममा लगाउने र कृषिका यन्त्रको प्रयोग गरेर उत्पादकत्व बढाउनेछ भने कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नेपाल सरकारको लक्ष्य पनि पूरा हुने कृषि विज्ञहरु बताउछन् ।

तपाईको प्रतिक्रिया