सर्लाहीमा दुई हजार नयाँ उद्योग दर्ता

  साउन २७, २०७९

सर्लाही, साउन २७ : घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८-७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये एक हजार पाँच सय ४१ कृषिजन्य उद्योग दर्ता भएका छन् ।

आव २०७८-७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ र कृषिजन्य एक हजार पाँच सय ४१ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जीतेन्द्रकिशोर गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७७-७८ मा एक हजार नौ सय ४३ नयाँ उद्योग दर्ता भएका थिए ।

आव २०७७-७८ मा आव २०७८-७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार तीन सय २४ उद्योग दर्ता भएका थिए । सेवातर्फ चार सय ३० र उत्पादनतर्फ एक सय ८९ उद्योग दर्ता भएका कार्यालय प्रमुख गुप्ताले बताउनुभयो ।

आव २०७८-७९ मा नयाँ र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट रु दुई करोड ९१ हजार राजस्व सङ्कलन भएको छ । जिल्लामा आव २०७८-७९ मा पाँच हजार चार सय ३० पुरुष र ३६ हजार ५० महिलाले रोजगारी पाएका कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया