राम्रोसँग नपाकेको स्याउ बजार नपठाउन आग्रह

  साउन २७, २०७९

जुम्ला, साउन २७ : जुम्लाको कृषि विकास कार्यालयले काँचो स्याउ बजारमा नपठाउन स्थानीय व्यापारीलाई आग्रह गरेको छ । राम्रोसँग नपाकेको स्याउ बजारमा आउन थालेपछि जिल्ला कृषि विकास कार्यालयले त्यस्तो आग्रह गरेको हो ।

कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार साउनको पहिलो साता जुम्लाका आठवटै स्थानीय तहका कृषि शाखाका प्रमुख, ठूला किसान र व्यापारीबीच स्याउको बजारीकरण र निर्यातका बारे सरोकारवालाबीच छलफल भएको थियो । छलफलले स्याउ नपाकेसम्म (खानयोग्य) नटिप्ने निर्णयसमेत भएको उहाँले जानकारी दिनुभयो ।

स्याउ परिपक्व भएपछि मात्रै टिप्दा राम्रो र गुणस्तरीय हुने भएकाले सम्बन्धित पालिकालाई स्याउ टिप्ने समय तोक्ने अधिकार दिइएको छ । अहिले जुम्ली स्याउले रङ मात्रै हालेको छ । गुलियोपना भरिन अझै २० प्रतिशत बाँकी छ । किसानको आर्थिक अवस्था र स्याउको गुणस्तरलाई मध्यनजर गरी स्याउ बजारमा पठाउने मिति तोक्ने जिम्मा सम्बन्धित पालिकाको कृषि शाखालाई नै दिइएको हो ।

तपाईको प्रतिक्रिया