वाइ पोनटिङलाई इन्डोर क्रिकेट उपाधि

  साउन २६, २०७९

काठमाडौं, साउन २६ : इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरीमा सम्पन्न अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको उपाधि वाइ पोनटिङले जितेको छ । इटहरी क्रिकेट रङ्गशालाको इन्डोर क्रिकेट हलमा विहिबार भएको फाइनल खेलमा वाइ पोनटिङले पशुपति स्कुललाई पाँच विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको पशुपतिले निर्धारित ६.३ ओभरमा सवै विकेटको क्षतिमा ४४ रन बनायो । पशुपति स्कुलले दिएको लक्ष्य वाइ पोनटिङले ५.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । वाइ पोनटिङका लागि रमन साहले सर्वाधिक २० रन बनाउनु भयो । उहाँ ‘म्यान अफ दि फाइनल’ घोषित हुनुभयो ।

उत्कृष्ट ब्याटसम्यान र म्यान अफ दि सिरीजको उपाधि आकाश सर्राफले पाउनुभयो । त्यस्तै उत्कृष्ट बलरको उपाधि सविन निरौलालाई प्रदान गरियो । अविरल गौतम प्रतियोगितामा उदीयमान खेलाडी घोषित हुनुभयो । प्रतिभाशाली टोलीको उपाधि माउन्ट मकालु स्कुल र अनुशासित टोलीको उपाधि डिभिएम स्कुललाई प्रदान गरिएको छ ।

विजेता टोलीलाई प्रमुख अथिति तथा इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिइने एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सिपी पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया