शक्ति पुरस्कार साहित्यकार विकल्पलाई

  साउन २४, २०७९

बागलुङ, साउन २४ : रणस्मृति पुरस्कार संस्था बागलुङले विसं २०७८ को ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गर्ने भएको छ ।सोम बार बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको संस्थाका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।

रु आठ हजार राशिसहितको उक्त पुरस्कार आउँदो भदौ ३ गते कृष्णाष्टमीका दिन आयोजना हुने समारोहमा समर्पण गरिने सो संस्थाले जनाएको छ । नेपाली भाषा, साहित्यको उन्नयनमा पु¥याएको योगदानबापत साहित्यकार विकल्पलाई पुरस्कृत गर्न लागिएको हो ।

पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्ष विकल्पका कविता सङ्ग्रह ‘सम्झनाका डोब हरु’, मुक्तक सङ्ग्रह ‘भुल्काहरु’, लघुकथा सङ्ग्रह ‘सर्वदलीय घर’लगायत करिब एक दर्जन कृति प्रकाशित छन् ।

उहाँले साहित्यिक पत्रिका ‘कालीको सुसेली’को सम्पादन पनि गर्दै आउनुभएको छ ।यसअघि सो पुरस्कारबाट पोखराका साहित्यकार तीर्थ श्रेष्ठ, तनहुँका अनिल श्रेष्ठ, भैर हवाका बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भइसक्नुभएको छ ।

विसं २०५० मा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा उक्त पुरस्कार संस्था स्थापना गर्नुभएको थियो । संस्थाले विसं २०७४ देखि साहित्यतर्फ पुरस्कार दिन थालेको हो ।

तपाईको प्रतिक्रिया