जनशक्ति अभावले उपचारमा सास्ती

  साउन २३, २०७९

महोत्तरी, साउन २३ : महोत्तरीको बर्दिवास अस्पतालमा सघन उपचार कक्षका उपकरण भए पनि तिनको उपयोग नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।

भेन्टिलेटर नहुँदा उपचार नपाएर यसै साउनमा सर्पले डसेको ३२ वर्षीय एक युवाको मृत्यु भएको थियो । यसअघि गत असार अन्तिम साता पनि दुई किशोरको सर्पदंशपछि सघन उपचार दिन नसकिँदा मृत्यु भएको थियो ।

वर्षेनी सर्पदंशका गम्भीर प्रकृतिका बिरामीलाई सघन उपचार गर्नपर्ने भएपछि सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडाले अन्यत्र रेफर गर्ने गरेको र बिरामीको बाटैमा मृत्यु हुने गरेका घटना बर्दिवास भेगमा बाक्लै हुने गरेका छन् ।

बढ्दो जनअसन्तोषको सम्बोधनका लागि गए साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट बर्दिवास अस्पतालले आइसियु भेन्टिलेटर उपकरण प्राप्त गरेको छ । यद्यपि भेन्टिलेटर प्रयोगमा नल्याइँदा यो सेवा प्रारम्भ हुन सकेको छैन ।

बर्दिवास अस्पतालले यसपालि प्राप्त गरेको भेन्टिलेटर पहिलोे भने होइन । यसअघि गत वर्ष कोभिड–१९ सङ्क्रमण निकै बढेका बेला विभिन्न संस्थाले प्रदान गरेका भेन्टिलेटर दक्ष प्राविधिकको अभाव तत्सम्बन्धी व्यवस्थापनको बेवास्ताले बर्दिवास अस्पतालमा त्यत्तिकै थन्केर रहेका छन् ।

बर्दिवास अस्पतालमा तीन भेन्टिलेटर भएका छन् । साधन थपिँदै गए पनि त्यसको प्रयोगमा आवश्यक पर्ने जनशक्ति र अन्य व्यवस्थापन नगरिँदा आम सर्वसाधारणका लागि ती उपयोगविहिन बनेका बर्दिबास–१४ का बासिन्दा हरि दाहाल बताउनुहुन्छ । “ उपकरण प्रयोगमा ल्याउन तत्काल स्थानीय सरकारले पहलकदमी लिन प¥यो ।”

तीन भेण्टिलेटरको लागि एमजिडिपी चिकित्सक, तीनभन्दा बढी मेडिकल अफिसर र चारदेखि पाँच नर्स आवश्यक पर्ने बर्दिवास अस्पतालका चिकित्सक बताउँछन् । यसको समुचित प्रयोगका लागि एनेस्थेसिया ९बेहोस बनाउने विधि० को विज्ञ टोली नै चाहिने डा किशोर अधिकारी बताउनुहुन्छ । भेन्टिलेटर प्रयोगमा ल्याउन प्रयोगशालाको स्तरोन्नतिदेखि अनेकौं आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने चिकित्सक बताउँछन् ।

सघन उपचार प्रारम्भ गर्न आवश्यक प्रबन्धबारे बर्दिवास नगरपालिका नेतृत्वसँग सम्वाद भईरहेको बर्दिवास अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मा बताउनुहुन्छ । “यो उपचार सेवा प्रारम्भ गर्न के के आवश्यक छ रु हामी विज्ञसँग सल्लाहमा छौँ”, शर्मा भन्नुहुन्छ, “यथासक्य चाँडो स्रोतसाधन जुटाएर सेवा प्रारम्भ गरिने छ ।”

यसैबीच बर्दिवस नगरपालिकाका प्रमुख प्रल्हाद क्षत्रीले पनि जनस्वास्थ्य सरोकारका विषय प्राथमिकतामा रहेको बताउनुभएको छ । “हामीसँग भेन्टिलेटर थिएनन् । अब त्यो प्रबन्ध भएको छ”, क्षत्री भन्नुहुन्छ, “अब यो सेवा सञ्चालनका लागि अन्य आवश्यक चाँजो मिलाइन पर्छ, स्थानीय तहले कति गर्नसक्छ त्यो गरिने छ र प्रादेशिक र सङ्घीय सरकारसँग पनि समन्वय गरिन्छ ।”

तपाईको प्रतिक्रिया