समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण : प्रचण्ड

  साउन २२, २०७९

काठमाडौँ, साउन २२ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।

‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र विदेशिएका नेपालीलाई एक दिन स्वदेश फर्कनका लागि अपिल गर्ने दिनको प्रतिक्षामा आफू रहेको बताउनुभयो ।

उहाँले नेपाली समुदायमा नकारात्मक प्रवृत्ति रहेको भन्दै त्यसलाई सकारात्मक नतिजामा परिणत गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रो समाजमा अहिले पनि नकारात्मक सोच राख्ने र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने मानिस रहेका छन् ।” उहाँले भन्नुभयो, “हिरोसिमामा बम हानेको ठाउँ मैले आज हेरेँ । यत्रो दुर्घटना र हत्या हुँदा जापानीको मनमा के होला ? मनोभावना कस्तो होला भनेर सोधेँ । तर जापानीहरूमा कुनै विद्वेष छैन । त्यो बेलाको परिस्थिति त्यस्तै थियो । अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रित हुनुपर्छ भनियो ।”

पूर्वप्रधानमन्त्री दाहालले नेपालमा भने असाध्यै नकारात्मक सोच्ने मानिस रहेको भन्दै गुनासो गर्नुभयो । जापानीहरूले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसकेको उल्लेख गर्दै उहाँले नेपालमा भने देशको निम्ति मर्छु भन्दा पनि सुख नपाइएको बताउनुभयो ।

संविधान जारी भएपछि दोस्रो पटक गत वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनले मुलुकलाई स्थिरतातर्फ लैजाने उहाँको भनाइ छ । उहाँले हरेक क्षेत्रलाई अगाडि बढाउने मुख्य विषय नै राजनीति नै भएकाले मुलुकमा कसरी राजनीतिक स्थायित्व प्रदान गर्ने होला भन्ने बारेमा सामूहिक रुपमा प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो ।

विकास र समृद्धिका लागि सुशासन नै प्रमुख आधार रहेको भन्दै उहाँले त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । अध्यक्ष दाहालले सुशासन कायम गर्नका लागि देशभित्र र देशबाहिर रहेका सबै नेपाली समुदायको साथ खोज्दै भन्नुभयो, “आफू दुई पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचार भयो भनेर सुन्न परेन । यस आधारमा पनि म भन्न सक्छु, पहल गर्ने हो भने सुशासन सम्भव छ ।”

उहाँले आफ्नै पहलमा मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर र ऊर्जा क्षेत्रमा दीर्घकालीन लक्ष्यका साथ अभियान अगाडि बढाइएको स्मरण गर्नुभयो । उहाँले ऊर्जाको व्यापारमार्फत आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले माओवादीकै पहलमा देशमा सङ्घीयता र गणतन्त्र आएको तथ्य पनि पेश गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासका लागि गुणात्मक तबरले लगानी गर्ने वातावरण बनाइएको बताउनुभयो । उहाँले देशभित्र राजनीतिक स्थायित्व र विकासका लागि आफूहरू लागि परेको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया