‘ललितकलाकै एउटा विधा फोटोग्राफी कला’

  साउन २२, २०७९

काठमाडौँ, साउन २२ : नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले ललितकलाकै एउटा विधाको रुपमा फोटोग्राफी कलाको विकास भइरहेको बताउनुभएको छ । कुलपति कर्माचार्यले एकजना राम्रो चित्रकारमा फोटोग्राफीको शिल्प भएमा सिर्जना कर्ममा सहयोग पुग्ने चर्चा गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आइतबार आयोजित पुरस्कार वितरण तथा फोटो प्रदर्शनीमा कुलपति कर्माचार्यले डिजिटल आर्ट फोटोग्राफीका विजेतालाई पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा कृतन जोशी प्रथम, सत्यम श्रेष्ठ द्वितीय र गोविन्द महर्जन तृतीय हुनुभएको थियो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको उपकुलपतिको सचिवालयले केही समयअघि तीन दिने डिजिटल कला फोटो कार्यशाला सञ्चालन गरेको थियो । तिनै सहभागीबीच फोटो प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, सदस्य सचिव विपिन कुमार घिमिरे, प्राज्ञ रमेशनाथ खनाल, फोटो आर्टिस्ट अशेष राजवंश, विकास रौनियारले नेपाली कलामा फोटोग्राफी कलाको महत्वबारे चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया