निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान, गठबन्धन बनाउँदा एउटै चिह्न

  साउन २१, २०७९

काठमाडौँ, साउन २१ : निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ ।

उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम नै रहेको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले बताउनुभयो । ऐनले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरेको छ ।

उक्त प्रावधान बमोजिम तालमेल गर्ने राजनीतिक दलले आयोगमा दर्ता रहेको आफ्नै चुनाव चिह्न वा अन्य छुट्टै चुनाव चिह्नसमेत रोजेर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुन पाउनेछन् । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गर्दा यस प्रकारको व्यवस्थाबारे प्रष्ट्याएको हो ।

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरू दुई ध्रुवमा विभाजित भई अलग अलग गठबन्धन बनाएर चुनावमा स्पर्धा गरेका थिए । तर आआफ्नै दल दर्ता गरेर चुनावमा जाँदा १० प्रतिशतभन्दा बढी मत आंशिक बदर भएको थियो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअघि राजनीतिक दलहरूले एउटै चुनाव चिह्न लिएर स्पर्धा गर्नेबारे समेत छलफल गर्दैछन् । तर तालमेल बमोजिम गठबन्धन बनाएर दल दर्ता गर्दा चुनाव चिह्नमा सहमति बनाउन कठिन देखिन्छ ।

तालमेल गरेर एउटै चुनाव चिह्न रोजेर निर्वाचनमा जाँदा सबैभन्दा बढी सिट जित्ने दलको संसदीय दल हुनेछ । यद्यपि दलीय चिह्नबाहेक छुट्टै रोजेको अवस्थामा भने दलहरूबाट निर्वाचित सांसद्को छुट्टै संसदीय दल गठन गर्नुपर्ने हुन्छ ।

यसअघि २०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा यस प्रकारको अभ्यास भइसकेको छ । आयोगका अनुसार उक्त चुनावमा ९५ दल दर्ता रहेकोमा चार दलले चुनावी तालमेल गरी एउटै चुनाव चिह्न रोजेका थिए ।

दल दर्ता आह्वान
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि १० दिनको समय दिएर राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले साउन २२ गतेदेखि सुरु भई साउन ३१ गतेसम्म दल दर्ताको समयसीमा निर्धारण गरेको हो । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरिएको बताउनुभयो । उक्त समयभित्र दिइने निवेदनकै आधारमा दलले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन पाउने जानकारी उहाँले दिनुभयो ।

आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्नेछ ।

दलहरूले प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्नेछ । मन्त्रिपरिषद्ले मङ्सिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्नुपूर्व निर्वाचन आयोगमा साउन १९ गतेसम्म ११६ राजनीतिक दलको दर्ता कायम रहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया