पोखराबाट पब्लिक टिभीको परीक्षण सुरु

  साउन १७, २०७९

गण्डकी, साउन १७ : बार्दली मिडियाद्वारा सञ्चालित फोर के प्रविधियुक्त पब्लिक टेलिभिजनको आजदेखि पोखरामा परीक्षण प्रसारण सुरु गरिएको छ ।

प्रसारणको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले शुभारम्भ गर्नुभयो ।

मन्त्री थापाले पोखरामा धेरै टेलिभिजन भए पनि पब्लिक टिभी विश्वसनीय र स्तरीय सामग्रीले उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो । टिभीले समाजमा भएका विभिन्न विकृति, विसङ्गतिलाई चिर्दैै, त्यसलाई न्यूनीकरण गरेर सञ्चार क्षेत्रमा सफलता प्राप्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

समाजमा लुकेका विषयको उजागर गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पब्लिक टिभीले पोखरामा एउटा उत्कृष्ट सञ्चारमाध्यमको पहिचान बनाउने विश्वास व्यक्त गर्नुभयो ।

टेलिभिजनका निर्देशक रुद्रप्रसाद अर्यालले प्रविधिले लगातार फड्को मारिरहँदा पछिल्लो प्रविधिलाई आत्मसात गरी टिभी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

सञ्चार क्षेत्रमा लामो अनुुभव र दक्षता हासिल गरिसकेका जनशक्तिसँग सहकार्य गर्न पाउँदा हर्षित बनेको बताउँदै उहाँले टेलिभिजन समाचार, मनोरञ्जनको माध्यम मात्रै नभई सूचना सम्प्रेषण, जनता र सरकारबीच पुलको काम गर्ने र आवाजविहीनको आवाज बोल्ने माध्यमका रुपमा अघि बढ्ने बताउनुभयो ।

टिभीका प्रबन्ध निर्देशक मन क्षेत्रीले वर्षौअघि देखेको सपना टिभीको परीक्षण प्रसारण सुरु भएसँगै पूरा हुने बाटोमा पुुगेको बताउनुभयो ।

बार्दली मिडियाले पाँच वर्ष अघिबाटै टिभीका लागि योजना बनाइरहेको बताउँदै उहाँले निकट भविष्यमा अनलाइन पोर्टल पनि सुरु गर्ने र टिभीलाई अहिलेका सबै सामाजिक सञ्जालबाट एक साथ हेर्न मिल्ने बनाइने बताउनुभयो ।

नेकपा (एमाले) पोखरा महानगर अध्यक्ष दिलीप न्यौपानेले पत्रकारितामा विकृति देखिएको समयमा पब्लिक टिभीबाट व्यावसायिक पत्रकारिता प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले मोफसलबाट सुरु भए पनि पब्लिकले केन्द्रीयस्तरको परिचय दिने विश्वास व्यक्त गर्नुभयो ।

टिभीका समाचार प्रमुख अमृत सुवेदीले सञ्चारमाध्यमको सङ्ख्या बढाउन नभइ जनताको आवाज बोल्ने र सत्यतथ्य खबरको उजागरसहित पत्रकारिकताको मर्म अनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया