पर्यटकको रोजाइमा सन्सारी सिमसार

  असार १३, २०७९

धनकुटा (हिले) असार १३ : हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी । चिटिक्कै परेका रंगीन घरहरु । सँगै रहेका विभिन्न मूर्तिहरु । यो धनकुटाको पाख्रिबासमा रहेको सन्सारी सिमसार क्षेत्रको परिचय हो ।

पछिल्लो समय धनकुटाको पाख्रिबास स्थित सन्सारी माइस्थान सिमसार क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । जङ्गल र झाडिका कारण केहिवर्ष अघिसम्म मानिसहरु दिउँसै हिडडुल गर्ने डराउने सो क्षेत्र अहिले भने पाख्रिबासकै मुख्य पर्यटकीय गन्तब्य बनेको हो ।

स्थानीयहरुको सकृयतामा बिभिन्न दाताको सहयोगमा यो क्षेत्रले आफ्नो रुप फेर्ने सफल भएसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास भएको सन्सारी सिमसारका संस्थापक सदश्य श्यामप्रकास राई बताउनुहुन्छ ।

२०६९ सालमा तत्कालिन जिल्ला बिकास समितिले सिमसार क्षेत्रको संरक्षण गर्न दिएको ८५ हजार रुपैयाँले मर्मत सुरु भएदेखि हालसम्म करिब ५० लाख रुपैया खर्च भएको छ ।  २५ रोपनी क्षेत्रफलमा रहेको सन्सारीमा बगेर खेर जाने पानीलाई बाँध बाँधेर बनाइएका जोर पोखरीमा बोटिङ गर्ने व्यवस्था गरिएको छ । एकै ठाउमा चिया बगान, ताल, बोटिङ्ग, मिनि चिडिया घर सहित धार्मिक आस्थाका मुर्तिको समेत दर्शन गर्न पाइने भएकाले बिभिन्न बिद्यालयले बिद्यार्थी समेत घुमाउन लिएर आउने गरेका छन् ।

धनकुटा सदरमुकामदेखि १९ किलोमिटर उत्तर तर्फको यात्रा गरेपछि सन्सारी क्षेत्र पुग्न सकिन्छ । यो पाख्रिबास नगरपालिकाको केन्द्र पाख्रिबास वजारसँगै रहेको छ । पाख्रिबास आफैमा एक पर्यटकीय स्थल हो । कृषि अनुसन्धान केन्द्रको अबलोकन गर्न वर्षौ अघिवाट पर्यटक पाख्रिबास पुग्ने गरेका थिए । अहिले भने यो सिमसार क्षेत्रले समेत पाख्रिबासमा थप पर्यटकका लागि आकर्षण बनेको छ ।

तपाईको प्रतिक्रिया