दोलखामा एमाले र राप्रपाले गराए मनोनयन दर्ता

  बैशाख ११, २०७९

चरीकोट, वैशाख ११ : वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनका लागि नेकपा (एमाले)का दोलखाका नौ वटै स्थानीय तहमा सबै पदमा मनोनयन दर्ता गरेको छ । सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिका-९ मा दलित सदस्यबाहेक र सबै तहमा प्रमुख उपप्रमुख र वडा अध्यक्षलगायत ३८७ पदका लागि उम्मेदावरी मनोनयन दर्ता भएको हो ।

सैलुङ गाउँपालिकामा अध्यक्ष धनबहादुर तमाङ र उपाध्यक्ष पार्वती थापा, मेलुङ गाउँपालिकामा अध्यक्ष हिरा थोकर र उपाध्यक्ष गायत्री आचार्य, कालिञ्चोक गाउँपालिकामा अध्यक्ष गणेश शिवाकोटी र उपाध्यक्ष कविता थामी, बिगु गाउँपालिकामा अध्यक्ष अचुतम केसी र उपाध्यक्ष देविका थामी, गौरी शङकर गाउँपालिकामा अध्यक्ष जंग गुरुङ र उपाध्यक्ष मुना शिवाकोटी, वैतेश्वर गाउँपालिकामा अध्यक्ष माधवप्रसाद घिमिरे र उपाध्यक्ष नवीना लामा, तामाकोसी गाउँपालिकामा अध्यक्ष अभिषेक सुवेदी र उपाध्यक्ष अम्बिका पोखरेलले मनोनयन गराउनु भएको छ।

त्यसैगरी भीमेश्वर नगरपालिकामा हरिवंश चौलागाईँ नगरप्रमुख र उपप्रमुख कमला बस्नेत र जिरी नगरपालिकामा नगरप्रमुख मित्र जिरेल र उपप्रमुख कृष्णमाया बुढाथोकीले मनोनयन दर्ता गराउनु भएको छ।

नेकपा एमालेसँग गठबन्धन गरेको राप्रपा नेपालले एमालेलाई नै सहयोग गर्ने गरी उम्मेदवारी दर्ता नगराएको राप्रपा नेपालका जिल्ला संयोजक नवराज श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीले भीमेश्वर नगरपालिका-८ बाहेक अरु सबै पालिकामा प्रमुख उपप्रमुखलगायत वडाअध्यक्षसहित उम्मेदवारी मनोनयन दर्ता गराएको जिल्ला अध्यक्ष राजनबहादुर शिवाकोटीले जानकारी दिनुभयो।

मनोनयन दर्ताका लागि दुई दिनको समय दिइएको छ। आइतबार मनोनयन दर्ता गर्न छुटेका दलका उम्मेदवारले सोमबार मनोनयन दर्ता गर्नेछन्। दोलखामा काँग्रेस, नेकपा (माओवादी केन्द्र)सहित अन्य दलले मनोनयन दर्ता गरेका छैनन्।

तपाईको प्रतिक्रिया