आहा ! रारा गोल्डकपको उद्घाटन खेलमा एपिएफको विजयी सुरुआत

  माघ ०६, २०७८

कास्की, माघ ६ : सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले आजदेखि पोखरामा सुरु भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न उद्घाटन खेलमा विभागीय एपीएफले आयोजक सहारा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । एपिएफले खेलको पहिलो तथा दोस्रो हाफमा एक÷एक गोल गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।

खेलको १४औँ मिनेटमा एपीएफका आभास लामिछानेले गोल गर्दै खेलमा अग्रता बनाउनुभयो । नविन लामाले पेनाल्टी क्षेत्रभित्र उपलब्ध गराएको बललाई दोस्रो बार च्याप्दै लामिछानेले हानेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ६०औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो ।

रवि तामाङको प्रहार विपक्षी खेलाडीले ‘डिबक्स’ भित्र क्लियर गर्न नसकेको अवस्थामा लामाले बललाई पोष्टको दिशा दिनुभयो । ‘ए डिभिजन’ क्लब सातदोबाटोका अधिकांश खेलाडीसहित मैदान ओर्लिएको आयोजक सहारा खेलमा गोलका अवसर सिर्जना गर्न नसक्दा पहिलो खेलमै पराजय बेर्होन बाध्य बन्यो ।

सहारालाई पराजित गरेको एपीएफले अब क्वार्टरफाइनलमा अमेरिकाको बीवाइएससी मिनेसोटा विरुद्ध खेल्नेछ । खेलमा एपिएफका नवीन लामा ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद रु आठ हजार र ट्रफी पुरस्कार प्राप्त गर्नुभयो ।

“खेलकुद विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित २०औँ संस्करणको प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मछिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, विवाईएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता छन् ।

आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइन्छ ।

फरवार्ड विष्ट सम्मानित
यसैबीच नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट प्रतियोगिताको उद्घाटन समारोहमा सम्मानित हुनुभएको छ । आयोजक सहाराले विष्टलाई फुटबल खेलमा गरेको योगदानको कदर गर्दै ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७८’ बाट सम्मानित गरेको हो ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, क्लबका अध्यक्ष हरिराम गुरुङलगायतले उहाँलाई नगद रु ३५ हजार, प्रमाणपत्र र दोसल्लाबाट सम्मान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया