राष्ट्रियसभा निर्वाचनका क्रममा अनिवार्य पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका २१ बुँदा

  माघ ०६, २०७८

काठमाडौं, माघ ६ : राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा आयोगले मतदाता, कर्मचारी, दलका प्रतिनिधि, उम्मेदवार सुरक्षाकर्मी र स्वयंसेवकलगायतलाई लक्षित गरेर २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको हो ।

आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण मात्रा खोप लगाएको कार्ड देखाउनुपर्ने छ । मतदान प्रक्रियामा सहभागीले मास्क अनिवार्य लगाउनुपर्ने छ ।

यसैगरी मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रुपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्ने छ । मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्रीसहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था गरिएको छ ।

मतदान अधिकृतले समय–समयमा मतदान केन्द्रमा मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायतका मतदान सामग्रीको अनिवार्य रुपमा निसङ्कमण गर्ने व्यवस्था मिलाउनुपर्ने आयोगले सार्वजनिक गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लेख छ ।

त्यस्तै, मतदान सम्पन्न भएपछि मतपेटीका सिल गर्नुअघि निसङ्कमण गर्ने र गणनाको लागि मतगणना स्थलमा लैजाने व्यवस्था गर्नुपर्ने छ। मतदान स्थलमा अनिर्वाय रुपमा आवश्यक उपकरणसहित एक एम्बुलेन्सको गर्न आयोगले निर्देशन दिएको छ । साथै सङ्क्रमित मतदातालाई छुट्टै लाइनको व्यवस्था गर्न पनि आयोगको स्वास्थ्य सुरक्षा मापदण्डमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया