पीएम कप क्रिकेट : लुम्बिनीको दोस्रो जित

  माघ ०२, २०७८

काठमाडौँ, माघ २ : लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत टियु क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई पाँच विकेटले हरायो । जितेपनि लुम्बिनी प्रतियोगिताबाट बाहिरिएको छ ।

यस समूहबाट विभागीय टोली एपीएफ बागमती प्रदेशले सेमिफाइनलमा स्थान बनाईसकेका छन् । गण्डकी पनि प्रतियोगिताबाट बाहिरिसकेका छन् । गण्डकीले दिएको एक सय ५ रनको विजय लक्ष्य लुम्बिनीले १३.१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।

लुम्बिनीको जितमा देव खनालले सर्वाधिक ५६ रन बनाउनुभयो । सुशान्त थापाले २६ रन बनाउनुभयो । बलिङमा गण्डकीका सुवास भण्डारीले तीन विकेट लिनुभयो । विशाल पौडेल र अशोक श्रेष्ठले एक एक विकेट झार्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १९.१ ओभरमा सवै विकेटको क्षतिमा एक सय चार रन बनाएको थियो । गण्डकीका लागि अनिल गुरुङल ५० रन बनाउनुभयो । विधान श्रेष्ठले १४ रन जोड्नुभयो । बलिङमा लुम्बिनीका अनिल खरेल चार विकेट लिनुभयो । दिपेन्द्र रावत र कृष्ण कार्कीले दुई दुई तथा दुर्गेश गुप्ता र तुलबहादुर थापाले एक एक विकेट झार्नुभयो ।

तपाईको प्रतिक्रिया