फुजी स्याउ खेतीमा आकर्षण

  माघ ०२, २०७८

जुम्ला, माघ २ : इटालियन फुजी स्याउप्रति जुम्ली किसानको आकर्षण बढेको छ । रोपेको एक वर्षमै उत्पादन हुन थालेपछि अहिले जुम्लामा फुजी स्याउ रोप्नेको सङ्ख्या बढेको छ । स्याउ उत्पादन तथा प्राविधिक सहयोग गर्दै आएकोे प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, स्याउ सुपरजोन कार्यालय, जुम्लाले फुजी स्याउ लगाउने किसानको सङ्ख्या बढ्न थालेको जानकारी दिएको छ ।

सुपरजोन कार्यालय प्रमुख गङ्गा पोख्रेलका अनुसार स्याउ सुपरजोन कार्यालयले तीन वर्षमा २७ हजार स्याउका बिरुवा वितरण गरेको छ । जुम्लाका किसान मीनबहादुर भण्डारीले सुपरजोन कार्यालयबाट पाँच हजार बिरुवा लिनुभएको छ । गुठीचौरमा रहेको उहाँको बगैँचामा ३० हजार स्याउका बिरुवा रोपिएका छन् । जुम्ला चन्दननाथ नगरपालिकाका सेराडावमा जुम्ला एग्रोफार्म र हाम्रो कृषि सहकारीले रोपेका बिरुवा फल्न थालेका छन् । ताम्ती, तातोपानीसहित विभिन्न स्थानमा इटालियन फुजी स्याउको बिरुवा ल्याएर जुम्लाको माटोमा फल्न थालेपछि आकर्षण बढेको हो । स्थानीय सरोज शाहीले पछिल्लो दुई वर्षमा १० लाख रुपियाँको स्याउ उत्पादन गर्नुभएको छ ।

स्याउ सुपरजोन कार्यालय जुम्लाले किसानलाई वितरण गरेको फुजी स्याउका बिरुवासहित जुम्लामा करिब ६० हजार बिरुवा रोपिएको जनाएको छ । पछिल्ला तीन वर्ष ४० टन स्याउ फलेको स्याउ सुपरजोन कार्यालयले जानकारी दिएको छ । चन्दननाथ नगरपालिका सेराडावमा भाडामा लिइएको हाम्रो कृषि सहकारीले एक हजार १०० स्याउका बोट रोपेर उत्पादन थालेको छ । फुजी स्याउको बजार मूल्य अहिले प्रतिकिलो २५० रुपियाँसम्म रहेको किसानले जनाएका छन् । स्थानीयस्तरमा उत्पादन हुने रोयल डेलिसियसले जस्तै इटालियन फुजीले समेत जुम्लामा समृद्धि ल्याउन थालेको परियोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया