संकटामाथि थ्रीस्टारको रोमाञ्चक जित

  माघ ०१, २०७८

काठमाडौँ, माघ १ : थ्रीस्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबमाथि रोमाञ्चक जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले संकटा क्लबलाई १–० गोलले हरायो । थ्रीटारको जितमा विजय भुजेलले निर्णायक गोल गर्नुभयो ।

भुजेलले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै थ्रीस्टारलाई महत्वपूर्ण जित दिलाउनुभयो । निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । अन्तिममा थ्रीस्टारले संकटाका गोलरक्षक राजाबाबु थापाले पन्च गर्दै फर्काएको बलमा गोल गर्दै जित निकाल्यो ।

यस हारसँगै संकटाको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जितसँगै थ्रीस्टार चौथो स्थानमा उक्लिएको छ । थ्रीस्टारले नौ खेलबाट १६ अंक बनाएको छ । पराजित संकटा पाँचौँ स्थानमा झरेको छ । संकटाको समान खेलबाट १४ अंक छ । शीर्षस्थानमा रहेको मच्छिन्द्रको २० र दोस्रो स्थानमा रहेको मनाङको १९ अंक छ । तेस्रो स्थानमा रहेको आर्मीको १७ अंक छ ।

तपाईको प्रतिक्रिया