आर्मी लिगको तेस्रो स्थानमा

  माघ ०१, २०७८

काठमाडौँ, माघ १ : त्रिभुवन आर्मी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले रेलिगेसनको दबाबमा रहेको फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हरायो । साविक उपविजेता आर्मीको जितमा जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले गोल गर्नुभयो । फ्रेन्ड्सका विदेशी खेलाडी जमल एन्थोनीले सान्त्वना गोल फर्काउनुभयो ।

पहिलो हाफमा २–० गोलको अग्रता लिएको आर्मीका लागि नगजितले १०औँ मिनेटमा खाता खोल्नुभयो । ४५औँ मिनेटमा दिनेशले गोल गर्दै पहिलो हाफमा आर्मीको अग्रता दोब्बर बनाउनुभयो । दिनेशले जर्ज प्रिन्सको पासमा गोल गर्नुभएको थियो । फ्रेन्ड्सले दोस्रो हाफको सुरुवातमा गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो ।

एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । त्यसपछि ७१औँ मिनेटमा सुमनले जगजितको कर्नर पासमा हेड गोल गर्दै आर्मीलाई सहज जित दिलाउनुभयो । आर्मीका जगजित श्रेष्ठ ‘म्यान अफ दि म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।

आर्मीकै सेसेहाङ आङ्देम्बे ‘इमर्जिङ प्लेयर’ हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । जितसँगै तेस्रो स्थानमा रहेको आर्मीले नौ खेलबाट १७ अंक बनाएको छ । पराजित फ्रेन्ड्स तीन अंक सहित तालिकाको अन्तिममा छ । फ्रेन्ड्स जारी लिगमा एउटै खेल नजित्ने एक्लो टोली हो ।

तपाईको प्रतिक्रिया