सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

  पुष २९, २०७८

काठमाडौँ, पुस २९ : राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । सन्देशले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ १०९ केजी भार वहन गर्दै विशालसिंह विष्टले बनाएको १०८ केजीको कीर्तिमान भंग गर्नुभएको हो ।

सन्देशले स्न्याचमा १०९ केजीसहित क्लिन एन्ज जर्कमा १ सय ३७ केजी गरी कुल २०६ केजी वजन उठाउदै स्वर्ण जित्नुभयो । एपिएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वलकुमार मिश्राले कांस्य जित्नुभयो । सिनियर पुरुष १०२ केजीमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा राष्ट्रिय कीर्तिमान बनाउनुभयो ।

उहाँले स्न्याचमा १११ र क्लिन एन्ड जर्कमा १५० केजी गरी जम्मा २६१ केजी भार उठाउनुभयो । यसअघि उक्त कीर्तिमान सन्देश गुरुङको नाममा थियो । सन्देशको नाममा स्न्याचमा १०३ केजी र क्लिन एन्ड जर्कमा १३५ केजीको राष्ट्रिय कीर्तिमान थियो । आर्मीका विनोद खड्का दोस्रो तथा एपिएफका रणबहादुर नगरकोटी तेस्रो हुनुभयो ।

नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पुरुष ८९ केजीमा नेपाल प्रहरीका ओमप्रकाश वैश्य पहिलो हुनुभयो । जुनियर पुरुष ८९ केजीमा बाँकेका सुरज वैश्य, युथतर्फ पुरुषको ९६ केजीमा सप्तरीका सञ्जय यादवल, युथतर्फ महिला ८१ केजीमा कास्कीकी सिन्जल गुरुङ, सिनियर महिलाअन्तर्गत ७६ केजीमा प्रहरीकी तारादेवी पुन, ८१ केजीमा प्रहरीकी जानकी बुढा, ८७ केजीमा प्रहरीकी विद्या राई र ८७ केजीमाथि नेपाल आर्मीकी अस्मिता राईले स्वर्ण जित्नुभयो ।

जुनियर पुरुषको १०२ केजीमा आर्मीका निरज सिग्देल, सिनियर पुरुषको १०९ केजीमा प्रहरीका राजीव महर्जन र १०२ केजीमाथि आर्मीका पुकार गुरुङ पहिलो हुनुभयो । विजेतालाई संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, आयोजक नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । तीनदिने प्रतियोगिताअन्तर्गत पुरुष-महिलातर्फ सिनियर-जुनियर-युथमा गरी एक सय ४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

तपाईको प्रतिक्रिया