भारतीय संसद्का चार सयभन्दा बढी कर्मचारीमा कोभिड सङ्क्रमण

  पुष २५, २०७८

नयाँदिल्ली, पुस २५ : भारतमा संसद्का चार सयभन्दा बढी कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म नियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो । संसद्को बजेट अधिवेशनअघि नै सङ्क्रमित भेटिएका हुन् । एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार एक हजार ४०९ संसद् कर्मचारी मध्ये ४०२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

‘जनवरी ४ देखि जनवरी ८ सम्म गरिएको परीक्षणमा ४०२ कर्मचारीहरूमा सङ्क्रमण देखिएको छ । ती सबै नमूना ओमिक्रोन भेरियन्ट कन्फर्मेसनको लागि जीनोम सिक्वेन्सिङमा पठाइएको छ,’ एजेन्सीले एक अधिकारीले भने। संसद्का कर्मचारीको आन्तरिक सन्देशमा कर्मचारीलाई सरकारको निर्देशनअनुसार सावधानी अपनाउन सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय सञ्चारमाध्यममा उद्धृत गरिएको आन्तरिक सन्देशमा भनिएको छ, लोकसभाका २०० र राज्यसभाबाट ६९ जना र १ सय ३३ सहयोगी कर्मचारीको परीक्षण पोजेटिभ देखिएको छ ।

तपाईको प्रतिक्रिया