कर्णाली प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

  पुष २५, २०७८

सल्यान, पुस २५ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । सबै पार्टी अधिवेशनमा केन्द्रित हुँदा सरकार विस्तारमा केही ढिला भएको स्वीकार गर्दै उहाँले अब छिट्टै सरकार विस्तार हुने उहाँले बताउनुभएको हो ।

नेपाल प्रेस युनियन सल्यानले खलङ्गामा गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भए पनि सरकारको काम प्रभावित नभएको बताउनुभयो । ‘राजनीतिक दलका चुनावी कार्यक्रमले सरकार विस्तारमा ढिला भएको छ’, उहाँले भन्नुभयो, ‘सरकार विस्तार हुन नसके पनि सरकारको काम नियमित भइराखेको छ ।’

६ बको कार्यान्वयन भए समृद्ध कर्णाली बन्ने उहाँको भनाइ छ । ६ ब मा बाटो, बिजुली, विचार (सूचना प्रविधि) वन, बजार र व्यवस्थापनमा ध्यान दिन सके प्रदेश धनी बन्ने बताउनुभयो । कर्णाली सुनको ताली भएको र यसलाई अकार दिए समृद्ध बन्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री शाहीले आफ्नो नेतृत्वको सरकार क्रमभङ्गको सरकार नभई गठबन्धनको सरकार भएकाले विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताउनुभयो । ‘यो गठबन्धनको सरकार हो । राम्रा कामलाई निरन्तरता दिन्छौँ, नराम्रा काम सच्याएर अघि बढ्छौँ’, उहाँले भन्नुभयो, ‘जनताको जनजीविकालाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ ।’

शाहीले कर्मचारीलाई गुणस्तरीय, पारदर्शी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । सल्यानस्थित संघ प्रदेश र स्थानीय तहका कर्मचारीलाई विकास बजेट न्यून खर्च भएको भन्दै समयमै छिटो छरितो र गुणस्तरीय कार्य सम्पादन गर्न निर्देशन दिनुभएको हो ।

कर्णाली प्रदेशका मुख्य सचिव राजकुमार श्रेष्ठले कर्मचारीले आफ्नो मात्रै नभएर जनताको चाहनालाई ध्यान दिनुपर्ने बताउनुभयो । संघीयताको पहिलो अभ्यास भइरहेकाले सहकार्य समन्वयबाट कार्य सम्पादन गर्नुपर्ने दायित्व कर्मचारीमा रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया