कालीगण्डकी करिडोर : मुस्ताङमा कालोपत्रे

  पुष २५, २०७८

मुस्ताङ, पुस २५ : राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको लक्ष्यअनुसार निर्माण हुन सकेको छैन । उत्तर–दक्षिण जोड्ने रणनीतिक सडकका रूपमा रहेको सो आयोजना सुरु भएको पाँच वर्षमा ६५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ ।

सडकको मुस्ताङखण्डमा अपेक्षाअनुसार काम भए पनि म्याग्दीखण्डमा भने सुस्त छ । निर्माण कम्पनीको ढिलासुस्ती र भौगोलिक कठिनाइका कारण म्याग्दीखण्डको निर्माणले गति लिन नसकेको जनाइएको छ ।

बेनी–जोमसोम हुँदै चीनको सिमाना कोरला नाकासम्मको दुई सय किलोमिटर सडकको निर्माण २०७३ मङ्सिर २१ गते थालिएको थियो । सो सडक निर्माण गर्न सात अर्ब २७ करोड रुपियाँ लागतमा १३ वटा प्याकेज बनाई ठेक्का लगाइएको थियो । जोमसोमदेखि कोरलासम्मका सात प्याकेजमध्ये छवटाको सडक स्तरोन्नतिसहित ग्राभेल हाल्ने कार्य सम्पन्न भइसकेको छ । जोमसोमदेखि माथि कोरलासम्मको सडक ग्राभेलमात्र ठेक्का लागेको हो ।

जोमसोमदेखि कोरलासम्म ११० किलोमिटरमध्ये चराङदेखि छोसेरसम्मको २५ किलोमिटर सडकमा ६५ प्रतिशत भौतिक प्रगति भएको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । सो खण्डको ठेक्का तामाङ गौरी पार्वती कोसी एन्ड न्यौपाने जेभीले प्राप्त गरेको छ ।

२०७५ भदौ १३ मा सम्पन्न गर्नेगरी २६ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले निर्माणलाई सन्तोषजनक रूपमा अगाडि नबढाएकाले पेस्की लगेको रकमबाट एक करोड नौ लाख रुपियाँ आयोजनाले फिर्ता लिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

यो खण्डमा अझै नौ करोड रुपियाँबराबरको काम बाँकी रहेको र निर्माण कम्पनीलाई काम गर्न ताकेता गरिएको उहाँले बताउनुभयो ।
करिडोरको म्याग्दीखण्डबाहेक मुस्ताङखण्डमा अहिलेसम्म २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । मुस्ताङको कैकुखोलादेखि खन्तीसम्मको सडकको ८० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

शर्मा गजुरमुखी जेभीसँग २० किलोमिटर सडक निर्माणका लागि ५४ करोड ३० लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । यस खण्डमा कालोपत्रे सुरु गरिएको छ । एक/दुई महिनामा यो खण्डको निर्माण सकिने उहाँले जानकारी दिनुभयो । खन्तीदेखि जोमसोमसम्मको १८ किलोमिटर सडकको ६५ प्रतिशत भौतिक प्रगति भएको छ ।

सो खण्डको काम कोसी पब्बु गौरी पार्वत कोसी एन्ड न्यौपानेसँग ६२ करोड दुई लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । यो खण्डमा काम गर्न सहज वातावरण भए पनि निर्माण कम्पनीले काम गर्न आनाकानी गरेकाले प्रारम्भिक कार्य सञ्चालन खर्चबापत लगेको रकमबाट चार करोड रुपियाँ फिर्ता माग गरिएको आयोजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

“काम सन्तोषजनक छैन, जमानत बसेको बैङ्कसँग उक्त रकम फिर्ताको माग गरेका छौँ,” आयोजना प्रमुख प्रजापतिले भन्नुभयो, “काम गर्ने कुनै अवरोध छैन, स्थानीयवासीको पनि साथ सहयोग छ, भौगोलिक रूपमा पनि काम गर्न सहज छ । तर, ठेकेदारले काम गरेको छैन ।” चैत मसान्तसम्म दिइएको समयसीमामा पनि काम नगरे निर्माण कम्पनीलाई थप कारबाही अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।

करिडोरको म्याग्दीखण्डमा निर्माणको काम अत्यन्तै सुस्त छ । भौगोलिक कठिनाइ र निर्माण कम्पनीको ढिलासुस्तीका कारण यो खण्डको निर्माणले गति लिन नसकेको आयोजनाले जनाएको छ । म्याग्दीखण्डको निर्माणमा भएको ढिलासुस्तीप्रति सर्वसाधारणको गुनासो छ ।

जिल्ला समन्वय समितिको अगुवाइमा जिल्लास्थित राजनीतिक दल, आयोजना कार्यालय, निर्माण कम्पनीका प्रतिनिधि र अन्य सरोकारवाला निकायबीच धेरैपटक यस विषयमा छलफल भए पनि कामले गति लिन सकेको छैन । समयमा सडक निर्माण नहुँदा सर्वसाधारणले दुःख पाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजाले बताउनुभयो । सडक निर्माण क्रममा पर्ने व्यवधानलाई गाउँपालिकाले समन्वय गरेर सहज वातावरण बनाए पनि आयोजनाले गति नलिएको उहाँको भनाइ छ ।

करिडोरको सबैभन्दा कठिन मानिएको म्याग्दीखण्ड हो । गलेश्वरदेखि तातोपानीसम्म १९ किलोमिटर सडक निर्माणका लागि ६० करोड ६० लाख रुपियाँमा शर्मा युनाइटेड जेभीसँग २०७६ मङ्सिरमा सम्पन्न गर्नेगरी २०७३ मा सम्झौता भएको हो । यो खण्डको अहिलेसम्म ६५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ ।

यस्तै, तातोपानीदेखि घाससम्मको १७ किलोमिटर सडक निर्माणका लागि ६३ करोड ५२ लाखमा शर्मा गजुरमुखी जेभीसँग २०७६ मङ्सिरमा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । यो खण्डको पनि अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ । करिडोरको सबैभन्दा कठिन मानिएको यो खण्ड हो ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रेभीरमा सडक ट्र्याक खोल्न निकै चुनौती रहेको जनाइएको छ । काभ्रेभीर फोर्न विस्फोटक प्रदार्थ प्रयोग गर्नुपर्ने भएकाले ५० टन विस्फोटक पदार्थ ल्याउन स्वीकृत भएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

सो सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा पर्ने भीरकाटेखण्डको दोबापुलदेखि तीन सय मिटर सुरुङमार्ग निर्माण गर्ने विषयमा अध्ययन भइरहेको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । तल कालीगण्डकी नदी किनार र माथि घोप्टेभीर भएकाले यो खण्डमा सडकका लागि सुरुङको विकल्प नभएको उहाँले बताउनुभयो ।

यसैगरी, करिडोर आयोजनामा थपिएको नयाँ प्याकेज मालढुङ्गादेखि बेनीसम्म १३ किलोमिटर सडक निर्माण सुरु भएको छ । दुई वर्ष छ महिनाभित्र सम्पन्न गर्नेगरी एपेक्स खड्का कृष्ण जेभीसँग ५२ करोड ८६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ । यो खण्डको अहिलेसम्म १० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।

यसैगरी, आयोजनाले जोमसोमदेखि कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भइसकेको छ । रौताह आत्रेय सरस जेभीसँग दुई वर्ष छ महिनाभित्र सम्पन्न गर्नेगरी २०७८ जेठमा २८ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । करिडोर आयोजनामा अहिलेसम्म साना ठूला गरी आठवटा पक्की पुल निर्माण भइसकेका छन् । बाँकी १५ वटा पुलको ५० प्रतिशत भन्दामाथि भौतिक प्रगति भएको छ ।

सो आयोजनाको अहिलेसम्म ६४ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो । मालढुङ्गादेखि कोरलासम्म दुई सय किलोमिटर सडक निर्माणका लागि सात अर्ब २७ करोड अनुमान गरिएकोमा अहिलेसम्म चार अर्ब ७३ करोड रुपियाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया